Harsamaya
उर्जामन्त्रीले भने - अबको १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्छौं
अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा एजेन्सी (आइरेना) का महानिर्देशक फान्सेस्को ला क्यामेरा र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्का ।

काठमाडौं - अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा एजेन्सी (आइरेना) का महानिर्देशक फान्सेस्को ला क्यामेरा र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सगरमाथा संवादमा सहभागिताकालागि औपचारिक भ्रमणमा नेपाल आएका महासचिव ला क्यामेरालाई ऊर्जा मन्त्रालयमा स्वागत तथा धन्यवाद दिँदैं मन्त्री खड्काले स्वच्छ ऊर्जा प्रवर्द्धनमा आइरेनाको विश्वव्यापी नेतृत्वको उच्च प्रशंसा गरे । 

मन्त्री खड्काले आइरेनाको भूमिकाले विश्वव्यापी ऊर्जा रूपान्तरणलाई नयाँ दिशा दिएको उल्लेख गर्दै नेपाल स्वच्छ, समावेशी र जलवायु–अनुकूल ऊर्जा प्रणालीको निर्माणप्रति दृढ प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् ।

शिष्टाचार भेटका क्रममा मन्त्री खड्काले नेपालको ऊर्जा नीति पेरिस सम्झौता, दिगो विकास लक्ष्य ७ (सस्तो र स्वच्छ ऊर्जा) र लक्ष्य १३ (जलवायु कार्य) सँग सुसंगत रहेको जानकारी गराए । साथै, निजी क्षेत्रको लगानी प्रोत्साहन, ऊर्जा स्रोतको विविधीकरण र राष्ट्रिय ग्रिडको आधुनिकीकरणका लागि नेपाल सरकारले नीतिगत तथा संस्थागत सुधारको दिशामा अघि बढाइरहेको उल्लेखसमेत गरे ।

उनले जलविद्युत् नेपालको ऊर्जा क्षेत्रको मेरुदण्ड भएको बताउँदै करिब ६२ गिगावाट क्षमताको जलविद्युत् सम्भावना रहेको तर सो मध्ये ठूलो हिस्सा अझै उपयोग हुन बाँकी रहेकोले आइरेनासँगको सहकार्यद्वारा जलविद्युतको दिगो विकाससँगै सौर्य, वायु, हरित हाइड्रोजनजस्ता नवीकरणीय ऊर्जा स्रोतहरूको प्रवर्द्धनमा सहकार्य विस्तार गर्न नेपाल इच्छुक रहेको धारणा व्यक्त गरे । 

नेपाल सरकारले हालै स्वीकृत गरेको “ऊर्जा विकास मार्गचित्र”ले  सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन क्षमता पुर्याउनका साथै प्रसारण तथा वितरण प्रणालीमा विद्युत व्यापार विस्तार गर्ने एवं नवीकरणीय ऊर्जा र ऊर्जा दक्षताका विविध पक्षहरूको समग्र विकास गर्ने लक्ष्य लिएको चर्चा गरेका थिए ।

भारत र बङ्गलादेशसँगको अन्तरदेशीय विद्युत् व्यापारबाट क्षेत्रीयस्तरमा स्वच्छ ऊर्जाको उपयोग विस्तारमा नेपालले अग्रणी भूमिका खेल्न सक्ने औँल्याउँदै मन्त्री खड्काले यसले नेपालको ऊर्जा क्षेत्रमा अन्तर्राष्ट्रिय विश्वास अभिवृद्धि भएको र क्षेत्रीय ऊर्जा एकीकरणको सम्भावना अझ सुदृढ भएको धारणा व्यक्त गरेका छन् । 

नेपालले आइरेनासँग जलविद्युत्, सौर्य, वायू, ग्रिड एकीकरण, अफ(ग्रिड ऊर्जा पहुँच तथा हरित हाइड्रोजन प्रविधिमा दीर्घकालीन सहकार्य विस्तार गर्ने प्रस्ताव अघि सारेको जानकारी पनि सो अवसरमा गराए ।

मन्त्री खड्काले उचाइमा बसोबास गर्ने तथा जलवायु–संवेदनशील क्षेत्रका समुदायहरूलाई समेटेर न्यायसंगत ऊर्जा रूपान्तरणको दिशामा नेपाल सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । साथै, यस यात्रामा आइरेनाको प्राविधिक सहयोग, ज्ञान आदानप्रदान तथा क्षमता अभिवृद्धिमा सहकार्य अत्यन्तै महत्वपूर्ण रहने विश्वास व्यक्त गरे ।

भेटका क्रममा आइरेनाका महानिर्देशक फ्रान्चेस्को ला क्यामेराले नेपालसँग दीर्घकालीन ऊर्जा साझेदारी गर्न संस्था इच्छुक रहेको बताए । 

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  १९:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update