Harsamaya
पूर्वमन्त्री बस्नेतको कार्यक्रम बिथोल्न जान लागेका माओवादीका नेता कार्यकर्ता बाटोबाटै फर्किए
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एंव पूर्वमन्त्री मोहन बहादुर बस्नेत ।

काठमाडौं - नेपाली काँग्रेसका केन्द्रीय सदस्य एंव पूर्वमन्त्री मोहन बहादुर बस्नेतलाई अवरोध गर्न जान लागेका माओवादी नेता कार्यकर्ता रोकिएका छन् ।  माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सांसद माधव सापकोटा सुबोधले वाइसिएल र स्थानीय माओवादी कार्यकर्तालाई ब्याक हट्न निर्देशन दिएपछि उनीहरू पछाडि हटेका हुन् । 

नेपाली काँग्रेस लिंसखुपाखर गाउँपालिकाको आयोजनामा आज बस्नेतले निगाले नारगाउँ खानेपानी उद्घाटन गर्ने कार्यक्रम छ । सो कार्यक्रमलाई रोक्न भन्दै लिसंखुपाखरका गाउँपालिका अध्यक्ष राजु लामाले आइतबार एक विज्ञप्ति जारी गर्दै खानेपानी कार्यक्रम उद्घाटन नगर्न पूर्वमन्त्री बस्नेतलाई चेतावनी दिएका थिए । सोमबार फेरि लामाले सुबोधले कार्यक्रम नविथोल्न निर्देशन दिएको भन्दै माओवादी ब्याक भएको सामाजिक सञ्जालमा लेखेका छन् ।  यस्तै सुनकोसी गाउँपालिकाले पनि विज्ञप्ति निकालेर ठोकर्पामा नवनिर्मित स्वास्थ्यचौकी उद्घाटन गर्न नदिने जनाएका थियो ।

बस्नेत भने पूर्वनिर्धारित कार्यक्रम अनुसार सोमबार बिहानै सिन्धुपाल्चोक हान्निएका छन् । टेरामिक्स खरिद प्रकरणमा भ्रष्टाचार गरेको भन्दै बस्नेतविरुद्ध विशेष अदालतमा मुद्दा परेको छ । त्यसलाई आधार बनाएर लिंसखुपाखर  र सुनकोसीले विज्ञप्ति जारी गरेका थिए । सांसद सापकोटाको निर्देशनसँगै माओवादी केन्द्र ब्याक हटेको छ भने नेकपा एमालेले के गर्छ हेर्न बाँकी छ ।

स्मरण रहोस् सुनकोसीमा नेकपा एमाले स्थानीय सरकारमा छ भने लिंसखुपाखरमा माओवादी केन्द्र स्थानीय सरकारमा छ । बस्नेतको जिल्लामा लामो समयदेखि चलेको रजगज उनीहरू मन पराउँदैनन् । सिन्धुपाल्चोकको राजनीतिमा बस्नेत आज पनि केन्द्रबिन्दुमा छन् ।

टेरामिक्स काण्डमा राजनैतिक प्रतिशोधको आधारमा मुद्दा दायर भएको काँग्रेस नेता कार्यकर्ताको भनाइ छ । सोही काण्डमा संलग्न सचिवहरू र दुई पूर्वमन्त्री गोकुल बास्कोटा र ज्ञानेन्द्र कार्कीलाई भने अख्तियारले उन्मुक्ति दिएको छ । 

>

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  १३:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update