Harsamaya
टी–२० विश्वकप छनोटमा नेपाली महिला टिम युएईसँग भिड्दै
टी–२० विश्वकप छनोटमा नेपाली महिला टिम युएईसँग भिड्दै ।

काठमाडौं - महिला टी–२० विश्वकपका लागि नेपालले आज संयुक्त अरब इमिरेट्स (युएई)सँग प्रतिस्पर्धा गर्दै छ । आईसीसी महिला विश्वकपका लागि थाइल्यान्डमा जारी एसियाली क्षेत्रको छनोटको सुपर–३ अन्तर्गत नेपालले आफ्नो पहिलो खेल खेल्न लागेको हो । यो खेल बिहान ८ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।

यस खेलमा जित निकाले नेपालले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ । पराजित भए नेपाल प्रतियोगिताबाट बाहिरिने छ । आयोजक थाइल्यान्ड भने सुपर तीनको एक खेल अगावै ग्लोबल छनोटमा पुगेको छ ।

आइतबारको खेलमा थाइल्यान्डले युएईलाई ४५ रनले हराएको थियो । प्रतियोगितामा सहभागी नेपाल समूह ‘सी’को विजेता हो भने थाइल्यान्ड समूह ‘ए’ र युएई समूह ‘बी’को विजेता टिम हुन् । प्रतियोगिता अन्तर्गत नेपालले दोस्रो खेल मङ्गलवार थाइल्यान्डसँग खेल्नेछ । यो प्रतियोगितामा सहभागी तीन टिमले एक अर्कासँग एक–एक खेल खेल्नेछन् ।

सुपर–३ प्रतियोगिताको शीर्ष दुई स्थानमा रहने महिला टिमले टी–२० विश्वकपको छनोट प्रतियोगितामा प्रवेश पाउनेछन् । यो प्रतियोगितामा १० टोली सहभागी हुनेछन् । अहिलेसम्म विश्व स्तरीय छनोट प्रतियोगिता खेल्ने बङ्गलादेश, स्कटल्यान्ड र अमेरिका गरेर तीन टिमको मात्र टुङ्गो लागेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  ०८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update