
काठमाडौं- भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका क्रममा भएका त्रुटि, अनियमितता र भ्रष्टाचार छानबिन गर्न गठित प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको उपसमिति संयोजकमा काँग्रेस सांसद मञ्जु खाँण चयन भएकी छन् ।
आइतबार बसेको समितिको बैठकले खाँणलाई संयोजक चयन गर्ने निर्णय गरेको समितिका सचिव तथा संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
यसअघि उक्त उपसमितिको संयोजक एमालेका सांसद योगेश भट्टराई नेतृत्वको उपसमितिले रुपन्देहीको भैरहवामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार र अनियमिततामाथि छानबिन नै नगरी प्रारम्भिक प्रतिवेदन तयार पारेपछि प्रश्न उठेको थियो । उपसमिति संयोजकका रूपमा आफूमाथि प्रश्न उठेपछि भट्टराईले आफू उक्त जिम्मेवारीमा नबस्ने घोषणा गरेका थिए ।