Harsamaya

मुगु - रारा तालको किनारमा रहेको मुगुको ताल्चा विमानस्थलको अवस्था चिन्ताजनक देखिएको छ ।

विमानस्थलको सेवा प्रवाह एक सानो काठको टहराबाट संचालनमा छ भने चौतर्फी खुल्ला भएका कारण पशु चौपाय र मानिसहरु जताभावी विमानस्थलभित्र प्रवेश गर्ने गरेका कारण जोखिम बढेको छ ।

टर्मिनल र टावर  भवन निर्माणका लागि जिम्मा लिएको ओमबुद्ध इन्टरनेशनल कन्स्ट्रक्सनले  आर्थिक बर्ष २०७८।०७९ मै निर्माण सम्पन्न गर्नेगरी ८ करोड ६५ लाख रुपैयाँमा जिम्मा लिएको काम हालसम्म पूरा गर्न सकेको छैन ।

भवन अधुरै र लथालिङ्ख पारेर ठेक्कादार सम्पर्कविहीन भएको स्थानीयहरूको भनाइ छ । जसका कारण यात्रु र पर्यटकहरूले सास्ती खेपिरहेका छन् । 

वि.स. २०६० देखि कच्ची धावन मार्गमार्फत हवाई सेवा संचालनमा आएको विमानस्थल वि.स.०७२ मा पाँच सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइको धावन मार्ग कालोपत्र भएर हालसम्म सन्चालनमा छ । तर जोखिम बढ्दो छ । 

विमानस्थलदेखि सडकसम्म आवतजावत गर्न वैकल्पिक बाटो नहुँदा थप समस्या भएको छ । उत्तर–दक्षिणतर्फ पहिरोको जोखिम बढिरहेको, टर्मिनल र टावर भवन निर्माण नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको स्थानीयवासीको गुनासो छ । 

विमानस्थलको चारैतिर लगाइएको घेराबार ठाँउ ठाँउमा भत्काउने, चोर्ने गरेकाले सुरक्षा चुनौती थपिएको छ ।  जहाज अवतरण गर्ने समयमा नेपाल प्रहरीले ठाँउ ठाँउमा सुरक्षा दिने गरेको भएपनि पशु चौपायाहरू प्रवेशमा रोक्न कठिन भइरहेको विमानस्थलको सुरक्षा गार्ड कार्यालयका निमित्त प्रमुख मिल बरियाले बताए । 

‘पशु–चौपायाहरू एयरपोर्ट भित्र आउने गरेकाले ठूला चौपायाको एक हजार र साना पशुहरूको पाँच सय जरिबाना लिनेगरी निर्णय भएको तर साँझ बिहान पशु प्रवेश गर्ने गरेका छन् । ताल्चामा अहिले पुरानो काठकै भवन र टहरामा जोखिम मोलेर सेवाप्रवाह भइरहेको छ । सामान्य हावा हुरी चल्दा पनि सेवा प्रवाहमा समस्या हुने गरेको छ ।  ओमबुद्ध कन्स्ट्रक्सन कम्पनिको लापरवाहीका कारण भवन निर्माण हुन नसक्दा जोखिम बढेको छ,’उनले भने । 

विमानस्थल पर्यटकीय हिसाबले महत्वपूर्ण भएपनि घेराबार, वैकल्पिक बाटो नहुनु, धावन मार्गको छेउछाउ बर्षेनी भासिदैं जानेको गरेको यात्रु जय बहादुर मल्लले बताए । विमानस्थलबाट दैनिक तारा, गोमा, सिता जहाजले उडान भर्ने गरेका छन् । 

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update