
काठमाडौं - तोक्मा टेक्नोलोजीजले तोक्मा एप र जीकार्ड सार्वजनिक गरेको छ । राजधानीको याक एण्ड यति होटेलमा आयोजित कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले तोक्मा एप र जीकार्ड सार्वजनिक गरेका हुन् ।
तोक्मा टेक्नोलोजीजले अल इन वान एप अर्थात् सुपर एपको रूपमा तोक्मा र एनएफसी प्रविधिमा आधारित डिजिटल कार्ड जीकार्ड ल्याएको हो ।
सार्वजनिक कार्यक्रममा बोल्दै विद्युत् प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले तोक्मा एप र जीकार्डले नेपालको डिजिटल इकोनोमीमा महत्त्वपूर्ण योगदान पुर्याउने बताए ।
‘यी प्रडक्टले डिजिटल इकोनोमीमा महत्त्वपूर्ण योगदान दिने छन् । यसले थुप्रै रोजगारीका अवसर समेत सिर्जना गर्नेछ,’ घिसिङले भने, ‘यस्ता प्रविधिले दैनिक काममा समेत इफिसेन्सी ल्याउँछन् । त्यसैले तपाईँहरू पनि प्रयोग गर्नुहोस् ।’
तोक्मा टेक्नोलोजीका सह–संस्थापक सञ्चमान राईले ३ वर्षको अनुसन्धान गरेर प्रडक्ट ल्याएको जानकारी दिँदै सुझाव अनुसार परिवर्तन गर्दै जाने बताए ।
त्यस्तै तोक्मा टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत सागर आङ्गेदम्बेले तोक्मा एप र जीकार्ड एउटा प्रविधि मात्र नभएर देश परिवर्तनको संवाहक भएको बताए ।
सहरी यातायात प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुबेर नेपालीले सार्वजनिक यातायातको क्षेत्रमा राइड शेयरिङ अनिवार्य र सहजता भएको जानकारी दिए ।
तोक्मा एपमा राइड शेयरिङ, टुर गाइड, सेक्युरिटी, केयर गिभर, शपिङ लगायतका सुविधा रहेका छन् । जीकार्डले भौतिक रूपमा भिजिटिङ कार्ड बोकेर हिँड्नुपर्ने बाध्यतालाई जीकार्डले अन्त्य गर्नेछ ।
जीकार्ड भएपछि एनएफसी सपोर्ट गर्ने मोबाइलमा ट्याप गरेर आफ्नो व्यक्तिगत र व्यवसायिक विवरण सजिलै शेयर गर्न सकिने छ । साथै आफ्नो आवश्यकता अनुसार जिकार्डमा विवरण पनि परिवर्तन सकिने छ । यसले वातावरणलाई जोगाउन पनि सहयोग गर्ने कम्पनीले जनाएको छ ।