Harsamaya
आइसिसी क्रिकेट विश्वकप लिग–२ का लागि नेपाली राष्ट्रिय टोली घोषणा

काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार स्कटल्यान्डमा हुने आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय शृङ्खलाका लागि १५ सदस्यीय नेपाली टिमको घोषणा गरेको छ । यो प्रतियोगिता अस्ट्रेलियाली प्रशिक्षक स्टुवार्ट लको पहिलो जिम्मेवारी हो ।

त्रिदेशीय एक दिवसीय शृङ्खलाका लागि रोहित पौडेलको कप्तान पद यथावत् छ भने उपकप्तान जिम्मेवारीमा पनि दीपेन्द्र सिंह ऐरी निरन्तर छन् । अन्य खेलाडीमा आसिफ सेख, कुशल भुर्तेल, अनिलकुमार साह, भीम सार्की, आरिफ सेख, बसिर अहमद, गुलसन झा, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, ललितनारायण राजवंशी, नन्दन यादव र रिजन ढकाल रहेका छन् ।

स्कटल्यान्डमा हुने प्रतियोगितामा नेपालले घरेलु टिम र नेदरल्यान्ड्ससँग दुई÷दुई खेल खेल्ने छ। नेपालले स्कटल्यान्डसँग जुन २ र जुन ८ तथा नेदरल्यान्ड्ससँग जुन ४ र १० तारिखमा खेल्ने कार्यक्रम रहेको छ । यसअघि नेपालले स्कटल्यान्ड ’ए’ सँग दुई अभ्यास खेल खेल्ने छ । 

एक दिवसीय शृङ्खलापछि नेपाल स्कटल्यान्डमा अन्तर्राष्ट्रिय टी– २० शृङ्खलामा पनि सहभागी हुने छ । क्यानले टी–२० शृङ्खलाका लागि अहिले रुपेशकुमार सिंह, लोकेश बम र किरण ठगुन्नालाई चयन गरिसकेको छ । रुपेश र किरण पहिलो पटक राष्ट्रिय टिममा परेका हुन् ।  यी तीन टिमले प्रतिस्थापन गर्ने खेलाडीबारे भने खुलासा गरेका छैनन् ।
 

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  ०८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update