Harsamaya
निर्माण गर्दागर्दै भाँचियो तामाकोसी माथिको पक्की पुल 
निर्माणको करिब अन्तिम चरणमा पुगेको मन्थलीको तामाकोसी नदी माथिको पक्की पुल ।

रामेछाप - निर्माणको करिब अन्तिम चरणमा पुगेको मन्थलीको तामाकोसी नदी माथिको पक्की पुल भाँचिएको छ । 

मन्थली नगरपालिका वडा नम्बर ६ र ७ जोड्ने तामाकोसी नदी माथिको ठेडिखोला पुल शुक्रबार अपरान्ह भाँचिएको हो । सो पुलको अन्तिम स्पानको ढलान सकिएको केही दिनमा नै पुल भाँचिएको हो । 

कूल २ सय ३० मिटर लामो र ११ मिटर चौडा सो पुलमा ४ वटा स्पान छन् । दुईवटा स्पान यस अघि नै तयारी भइसकेको सो पुलको बीचको स्पान अन्तिम ढलान गरिएको थियो । ढलान सकिएको केही दिनमा पुल क्रर्याक भएको छ ।

संघीय सरकार सडक विभाग पुल महाशाखा मार्फत सो पुल निर्माण भएको हो । यो वर्षा अगाडि नै पुल सञ्चालन गर्ने तयारी थियो । तर अन्तिम समयमा आएर पुल नै भाँचिए पछि निर्माणकार्यमा अन्यौलता थपिएको छ । 

सो पुल निर्माणका लागि २०७८ सालमा कालिका–कल्पवृक्ष जेभिले ठेक्का सम्झौता गरेको थियो । पुल निर्माणका लागि भ्याट र पिएस बाहेक २२ करोड ५५ लाख ४० हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । 

पुल भाँचिनुको कारण खुलेको छैन । निर्माण कम्पनीले तत्काल विज्ञ टोली ल्याएर क्षति सम्बन्धमा प्राविधिक जाँच गराउने भएको छ । त्यस पछि पुल पुरै भत्काएर बनाउनु पर्ने वा रिपेयरिङ गर्न सकिने खुल्ने छ । 

यो पुल रामेछापबाट खाँडादेवी गाउँपालिकाको सित्खा हुँदै काठमाडौं जाने सबैभन्दा छोटो बाटोको पुल हो । मन्थलीबाट खाँडादेवी, दोरम्बा र सुनापति गाउँपालिका जान पनि यो पुलबाट छोटो दुरी पर्दछ ।
 

प्रकाशित मिति: शनिबार, वैशाख २७, २०८२  ०८:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update