Harsamaya
नेपालमा स्वास्थ्य जनशक्तिको अभाव नभए पनि टिक्ने स्थिति छैन : मन्त्री पौडेल
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल ।

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालमा स्वास्थ्य जनशक्तिको अभाव नभए पनि टिक्ने स्थिति नरहेको बताएका छन् ।

मंगलबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २३औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले काठमाडौंभित्र स्वास्थ्य संस्थाहरूमा निर्वाह हुने जनशक्ति रहे पनि काठमाडौं बाहिर जनशक्तिको पूर्ण रूपमा अभाव भएको बताएका हुन् ।

उनले भने, ‘नेपालमा स्वास्थ्य जनशक्तिको अभाव छ भनेर भन्ने स्थिति छैन । तर टिक्ने कुरा असाध्यै मुस्किल छ । टिकाउने कुरा असाध्यै गाह्रो बनिरहेको छ । काठमाडौंभित्र स्वास्थ्य संस्थाहरूमा निर्वाह हुने जनशक्ति छ । तर काठमाडौं बाहिर जनशक्तिको पूर्ण रूपमा अभाव भएको स्थिति छ । त्यसैले जनशक्ति उत्पादन गर्ने, नेपालभित्रै टिकाउने र काठमाडौं बाहिर दुरदराजमा स्वास्थ्य सेवा उपलब्ध गराउनका निम्ती खटिने स्थिति हामीले बनाउन सक्नुपर्छ । त्यसका लागि उत्पादन प्रक्रियालाई सहज बनाउन जरुरी छ । जनशक्ति उत्पादन कम खर्चिलो, नागरिकको आर्थिक दायित्व नहुने राज्यको आवश्यकता भएको कारणले राज्यले लगानी गरेर उत्पादन गर्ने स्थिती हामीले बनाउन जरुरी छ ।’

साथै, उनले स्वास्थ्य जनशक्तिलाई नेपालभित्रै टिकाउनको निम्ति प्रोत्साहित गर्ने र व्यक्तिगत उन्नयनका खुड्किलाहरूलाई सहज बनाउने स्थिति बनाउन जरुरी रहेको बताए । उनले २० वर्ष अगाडि काउन्सिलमा जति डाक्टरको संख्या दर्ता थियो त्यसको तीन गुणा, चार गुणा बढेको अवस्था भएपनि नेपालमा टिकाउन गाह्रो रहेको बताए ।

उनले भने, ‘जनशक्तिलाई नेपालभित्रै टिकाउनको निम्ति प्रोत्साहित गर्ने र व्यक्तिगत उन्नयनका खुड्किलाहरूलाई सहज बनाउने स्थिति हामीले बनाउन जरुरी छ । २० वर्ष अगाडि काउन्सिलमा जति डाक्टरको संख्या दर्ता थियो त्यसको तीन गुणा, चार गुणा बढेको अवस्था छ । अबको पाँच, सात वर्षपछि गंगालालमा मुटु उपचारको विशिष्टता हासिल गरेको चिकित्सक अभाव हुने स्थिति छ । सातै प्रदेशमा क्यान्सर सेवा विस्तार गरेका छौं । तर विज्ञापनको आधारमा फाराम भरेर जाँच दिनेहरूको  फेरी कमी हुने छ । हामीहरूको उपचारात्मक प्रणालीमा जनशक्तिको पर्याप्तता पुर्याउन आवश्यक छ ।’  
 

प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  १५:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update