Harsamaya
निजी क्षेत्रको मनोबल नबढाई देशको अर्थतन्त्र अघि बढ्दैन :अर्थमन्त्री पौडेल 
उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल ।

काठमाडौं - उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले सरकारले निजी क्षेत्रको मनोबल बढाउने गरी काम गरिरहेको बताएका छन् । 

शनिबार सिंहदरबारमा भएको पूर्व बजेट छलफलमा बोल्दै उनले सरकारले निजी क्षेत्रलाई बेवास्ता गर्यो भन्नु गलत भएको भन्दै निजी क्षेत्रको मनोबल बढाउनको लागि काम गरेको बताएका हुन् । 

उनले भने, ‘निजी क्षेत्रको आत्मबल बढाउन सरकार सम्पूर्ण रूपमा केन्द्रित छ । सरकारलाई राम्रोसँग हेक्का छ । निजी क्षेत्र जसको अर्थतन्त्रमा ८० प्रतिशत होल्डर रहेको निजी क्षेत्रको मनोबल नबढाई देशको अर्थतन्त्र अघि बढ्दैन भन्ने ज्ञान सरकारसँग छ ।’ उनले निजी क्षेत्रका मुद्दा सम्बोधन गर्नका लागि नै अध्यादेश मार्फत कानुन आएको बताए । 

‘हामीले निजी क्षेत्रसँग अत्यन्त, जीवन्त घनिष्ट सहकार्य गरेका छौं दशकदेखि नउठेको मुद्दाहरूलाई सम्बोधन गर्न अध्यादेश मार्फत कानुन भइसकेको छ । त्यसको स्रोत निजी क्षेत्र हो । निजी क्षेत्रलाई सरकारले बेवास्ता गर्यो भन्ने कुराको कुनै अर्थ छैन,’उनले भने ।

मन्त्री पौडेलले नेपालमा समाजवाद नभएको र त्यसको लागि सबैभन्दा पहिला देश आर्थिक रूपमा समृद्धि हुनुपर्ने बताए । ‘नेपालमा समाजवाद छैन । आजै आउँदैन पनि त्यो समाजवाद धेरै टाढा छ । नेपाली समाजवादमा सबैभन्दा पहिला देश आर्थिक रूपमा समृद्धि हुनुपर्यो । त्यसका आम नागरिकको समान पहुँच हुनुपर्छ । सबै प्रकारको विभेद अन्त्य हुनुपर्छ,’उनले भने । 
 

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२  २१:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update