Harsamaya
कृषि तथा खाद्य क्वारेन्टाइनको माग राख्दै धर्ना
कृषि तथा खाद्य क्वारेन्टाइनको माग राख्दै रौतहटका व्यापारीहरूले गौर भन्सार कार्यालय परिसरमा धर्ना ।

रौतहट - कृषि तथा खाद्य क्वारेन्टाइनको माग राख्दै रौतहटका व्यापारीहरूले गौर भन्सार कार्यालय परिसरमा आइतबारदेखि धर्ना दिएका छन् । 

स्थानीय व्यवसायी कौशल साहको नेतृत्वमा रहेका व्यापारीहरूको टोलीले भन्सार कार्यालयको मुख्य गेटमा एक घण्टा धर्नासहित प्रदर्शन गरेका हुन् ।

आइतबार दिउँसो १२ बजेदेखि सुरु भएको धर्ना सहित प्रदर्शन कार्यक्रम भोलिदेखि क्रमशः एक÷एक घण्टा थप गर्दै जाने तय भएको व्यवसायीहरुले बताएका छन् ।

अर्थ मन्त्रालयमा पटक–पटक समस्या राख्दै आएको भएपनि कुनै सुनुवाइ नहुँदा बाध्य भएर आन्दोलनका कार्यक्रम तय गरेको स्थानीय व्यवसायी कौशल साहले बताए । 

उनका अनुसार गौर भन्सार कार्यालयमा कृषि तथा खाद्य क्वारेन्टाइनको अभावमा यहाँका व्यापारीहरूलाई अन्य जिल्लामा जानु पर्ने बाध्यता छ । रौतहटका व्यवसायीहरूलाई खाद्यान्न, फलफुल, आलु, प्याज, तरकारी लगायतका खाद्य सामानहरू भारतबाट ल्याउँदा वीरगन्ज वा मलंगवा भन्सार प्रयोग गर्नुपरेको उनको भनाइ छ । 

यसले गर्दा ढुवानी खर्च बढी हुने हुँदा उक्त क्वारेन्टाइन स्थापना हुन आवश्यक रहेको उनले जोड दिए । आफूहरूको माग सुनुवाइ नभएमा चरणबद्व आन्दोलन गर्ने उनले चेतावनी दिए ।

वैशाख ७ देखि १५ गतेसम्म भन्सार कार्यालय गेटमा धर्ना प्रदर्शन गर्ने र त्यसपछि पनि माग सम्बोधन नभए वैशाख १६ गतेदेखि अनिश्चितकालीन तालाबन्दी गर्ने निर्णय भएको व्यवसायी साह बताए ।

यसअघि सो टोलीले चैत ३१ गते भन्सार कार्यालय प्रमुखमार्फत अर्थ मन्त्रीलाई तीन बुँदे मागसहित ज्ञापन पत्र बुझाएको थियो । २०३३ सालमा स्थापना भएको गौर भन्सार कार्यालय अन्य सामन भने सहज तरिकाले आयात निर्यातको हुँदै आएको छ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update