Harsamaya

काठमाडौं - फितलो व्यवस्थान, आर्थिक संकटलगायत विविध समस्याले जेलिएको नेपाल वायुसेवा निगमलाई सपार्न करार व्यवस्थापनमा जानुपर्ने सुझाव सांसदहरूले दिएका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा निगमको समस्या धेरै पुरानो भएकाले व्यवस्थापन परिवर्तन गरेर त्यसलाई सुधार्नुपर्ने उनीहरूले बताए ।

समितिका सदस्य उदयशम्शेर जबराले निगमको समस्या २० वर्ष पुरानो र परम्परागत भएको उल्लेख गर्दै व्यवस्थापन परिवर्तन गरिनुपर्ने धारणा व्यक्त गरे । व्यवस्थापन परिवर्तन नगरी निगममा सुधार गर्न कठिन हुने विचार व्यक्त गरे । समितिका अर्का भीमप्रसाद आचार्यले निगमको व्यस्थापन प्रणाली परिवर्तन नगरिकन अरू परिवर्तन हुने अवस्थामा नभएको बताए । यसको व्यस्थापन करारमा दिनुपर्छ ।

त्यसैगरी अर्की सदस्य सुनिता बरालले व्यवस्थापनसँगै खरिद प्रक्रियाको समस्या भए त्यो पनि सच्याउन जरूरी रहेको बताइन् । सांसद शिशिर खनालले विमान खरिदमा भएको अनियमिताताको छानविन समितिले गर्नुपर्नेमा जोड दिए । सांसद एनपी साउदले निगममा व्यवस्थापकीय समस्या भएको बताउदै सुधारका लागि निजी क्षेत्रलाई व्यवस्थापकीय जिम्मेवारी दिनुपर्ने वा व्यस्थापन करारमा जानुपर्छ भने ।

सांसद योगेश गौचनले कार्यकारी प्रमुख बिना नै निगम सञ्चालन भइरहेको उल्लेख गर्दै निलम्बनमा परेको व्यक्तिबाट संस्थानको हित सुनिश्चित गर्न नसकिने तर्क गरे । बैठकमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगम सञ्चालनको अवस्था र समस्याका बारेमा जानकारी गराएको थियोे ।

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update