नेपालगन्ज - यही चैत ७ गतेबाट सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई मर्यादित र निष्पक्ष तरिकाले सम्पन्न गर्न बाँकेको बैजनाथ गाउँपालिकामा रहेका सबै परीक्षा केन्द्रमा सिसी क्यामरा जडान गरिएको छ ।
परीक्षालाई मर्यादित र स्वच्छ तरिकाले शान्तिका साथ सम्पन्न गर्ने उद्देश्यले पालिकाभित्रका सबै परीक्षा केन्द्रमा सिसी क्यामरा जडान गरिएको गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले बताए ।
गाउँपालिकाले पालिकाभित्रका सबै १२ वटा परीक्षा केन्द्रमा सिसी क्यामरा जडान गरेको जनाउँदै उनले अब परीक्षामा कसैले पनि कुनै प्रकारको गडबडी गर्न नसक्ने र गरेको खण्डमा तत्काल पत्ता लाग्ने बताए ।
यसैबिच गाउँपालिकाभित्रका १२ वटा परीक्षा केन्द्रमा रहेका १३४ वटा सबै कोठामा जडान गरिएका सिसी क्यामराको बैजनाथ गाउँपालिकाका अध्यक्ष शाहीलगायत शिक्षा शाखाले सोमबारबाट अनुगमनसमेत सुरु गरेको छ ।
सिसी क्यामराको अनुगमन गर्दै पालिका अध्यक्ष शाहीले परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन सबै परीक्षा केन्द्रमा सिसी क्यामरा जडान गरिएको पाएको जनाउँदै अब परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न हुनेमा कुनै आशङ्का नरहेको बताए ।