Harsamaya
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चैत १९ देखि १८ घण्टा खुल्ने
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी चैत १९ (अप्रिल १) बाट ६ घण्टामात्र बन्द हुने भएको छ ।

२०८१ कात्तिक २३ देखि चैत १८ गतेसम्मको समय सीमा तोकेर विमानस्थल विस्तार गर्ने योजनाअनुरूप स्तरोन्नतिको काम भइरहेको छ । विगतमा नागरिक उड्डयन प्राधिकरणले दैनिक १० घण्टा विमानस्थल बन्द गरेर स्तरोन्नतिको काम गरेको थियो । माघ १९ देखि विमानस्थल बिहान ७ बजेदेखि बेलुका ११ बजेसम्म सञ्चालन भइरहेकोमा चैत १९ देखि ६ घण्टामात्र (राति १२ देखि बिहान ६ बजे) बन्द हुने भएको हो ।

अहिले राति ११ बाट बिहान ७ बजेसम्म बन्द हुँदै आएकोमा चैत १९ बाट विमानस्थल १८ घण्टा सञ्चालनमा आउने प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको काम ६० प्रतिशत पूरा भएको छ । 

प्राधिकरणले क्षमता र गुणस्तर अभिवृद्धि गर्न विमानस्थल मर्मत गरेको हो । विमानस्थलको दक्षिण-पश्चिमतर्फ समानान्तर ट्याक्सी वे, उत्तरतर्फको इन्टरनेसनल एप्रोन र विमानस्थल पूर्वतर्फको ह्यांगर एप्रोन गरी तीन प्याकेजमा विमानस्थल स्तरोन्नति र विस्तारको काम हुँदैछ । प्राधिकरणले एसियाली विकास बैंकको ऋण सहयोगमा १५ अर्ब रुपैयाँ लगानीमा विमानस्थल विस्तारको काम अगाडि बढाएको हो।
 

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  ०८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update