सर्लाही - राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेशकुमार सिंहको नेतृत्वमा सञ्चालित मेची–महाकाली हुलाकी सडक पदयात्रा सर्लाहीबाट रौतहटतर्फ अगाडि बढेको छ ।
महोत्तरी जिल्लाबाट शनिबार बिहान सर्लाही प्रवेश गरेका सांसद सिंह शनिबार साँझ जिल्ला सदरमुकाम मलङ्गवा आइपुगेका थिए । उनले शनिबार राति मलङ्गवामै बास बसेपछि आइतबार बिहान पुनः आफ्नो पदयात्रालाई निरन्तरता दिँदै हुलाकी सडकमार्ग हुँदै रौतहटतर्फ प्रस्थान गरे ।
सांसद सिंह मलङ्गवाबाट कौडेना हुँदै आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ को गोडैता र बलरा भएर बागमती नदी पार गरी रौतहट जिल्लामा प्रवेश गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
जनताको आवाज सुन्ने, राष्ट्रिय एकता, सुशासन र समृद्धिको सन्देश प्रवाह गर्ने उद्देश्यले मेची–महाकाली हुलाकी सडक पदयात्रा सञ्चालन गरेको सांसद सिंहले बताए ।
उक्त अभियानका क्रममा सर्लाहीमा साथ, सहयोग, समर्थन तथा आत्मीय स्वागत गर्ने सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक एवं आम जनसमुदायप्रति सांसद सिंहले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरे ।
यसैबीच, शनिबार साँझ मलङ्गवामा सांसद सिंहलाई कालो झण्डा देखाउने क्रममा पक्राउ परेका चार जना रिहा भएका छन । उनीहरूलाई गएराति मध्यरातमा प्रहरीले छाडेको हिन्दु सम्राट सेनाका नेता कृष्ण यादवले जानकारी दिए ।
सांसद सिंहले हिन्दुविरोधी अभिव्यक्ति दिएको आरोप लगाउँदै हिन्दु सम्राट सेनाका कार्यकर्ताहरूले उनलाई कालो झण्डा देखाएका थिए । सोही क्रममा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको थियो ।

