Harsamaya

म्यान्मा - म्यान्माको सेनाले द्वन्द्वग्रस्त क्षेत्रमा विवाह समारोहको तयारी भइरहेको घरलाई लक्षित गरी हवाई आक्रमण गर्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ। घटनामा मृत्यु हुनेको सङ्ख्या १७ सम्म पुग्न सक्ने एक प्रत्यक्षदर्शीले बताएका छन्।

शनिबार शान र कायाह राज्यको सीमावर्ती क्षेत्र मोए बाइस्थित एक गाउँमा उक्त आक्रमण भएको हो। विस्थापित भएका दुई व्यक्तिको विवाहका लागि तयारी भइरहेको घरमा सेनाले हवाई आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन्।

उनका अनुसार आक्रमणअघि विमान उडेको आवाज सुनिए पनि आफ्नो क्षेत्रमा बमबारी नहुने ठानेका थिए। तर केही समयपछि ठूलो विस्फोटको आवाज सुनियो र घटनास्थलबाट धुवाँ निस्किएको थियो।

उद्धारका लागि घटनास्थल पुगेका ती प्रत्यक्षदर्शीले १७ वटा शव देखेको र धेरै मानिस घाइते भएको बताएका छन्। स्थानीयले उपलब्ध गराएका तस्बिरमा महिला र बालकसहित कम्तीमा ६ वटा शव देखिएका छन्। यद्यपि, समाचार संस्था एएफपीले ती तस्बिर तथा भिडियोको स्वतन्त्र पुष्टि गर्न सकेको छैन।

घटनाबारे म्यान्माको सेनाको प्रतिक्रिया प्राप्त हुन सकेको छैन।

सन् २०२१ मा सेनाले सत्ता कब्जा गरेपछि म्यान्मामा गृहयुद्ध जारी छ। सशस्त्र द्वन्द्वको अनुगमन गर्दै आएको एसीएलईडीका अनुसार म्यान्मामा जारी द्वन्द्वमा हालसम्म एक लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।

प्रकाशित मिति: शनिबार, मंसिर १२, २०८३  २१:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update