Harsamaya
नारायणगढ–मुग्लिन सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ–मुग्लिन सडकखण्ड ।

चितवन - नारायणगढ–मुग्लिन सडकखण्डको तुईन खोला क्षेत्रमा पहिरो रोकथामको काम सुरु गरिने भएपछि सडक दैनिक पाँच घण्टा बन्द हुने भएको छ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका अनुसार आगामी मंसिर १३ गतेदेखि तुईन खोला खण्डमा पहिरो रोकथामको काम अघि बढाइने भएकाले अर्को सूचना जारी नभएसम्म दैनिक बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सडक आवागमन बन्द गरिनेछ।

पहिरोको जोखिम न्यूनीकरण तथा सडकलाई सुरक्षित बनाउने उद्देश्यले रोकथामको काम गर्न लागिएको हो।

निर्माण कार्यका क्रममा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै आयोजनाले उक्त समयमा सडक बन्द गर्ने निर्णय गरेको हो। त्यसैले नारायणगढ–मुग्लिन सडक हुँदै यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई समय मिलाएर यात्रा गर्न र वैकल्पिक समयको व्यवस्थापन गर्न आग्रह गरिएको छ।

सडक बन्द हुने समयबाहेक अन्य समयमा भने अवस्था र आयोजनाको व्यवस्थाअनुसार सवारी आवागमन सञ्चालन हुनेछ।

प्रकाशित मिति: शनिबार, मंसिर १२, २०८३  ०८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update