चितवन - पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडक खण्डको घोप्टेभिरमा पहिरो रोकथाम तथा जोखिमपूर्ण भाग हटाउने काम सम्पन्न गर्न थप तीन दिन लाग्ने भएको छ ।
नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)का सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार भौगोलिक अवस्था अप्ठ्यारो भएकाले काम गर्न कठिनाइ भइरहेको छ । गत शनिबार दिउँसोदेखि दैनिक पाँच घण्टा सवारी आवागमन रोकेर जोखिमपूर्ण भाग हटाउने काम भइरहेको छ ।
मिश्रले थप समस्या नआए अबको तीन दिनभित्र काम सक्ने लक्ष्य रहेको बताए । उनका अनुसार हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द गरेर माथिबाट स्काभेटरले जोखिमपूर्ण भाग झार्ने र तलबाट सडक सफा गर्ने काम भइरहेको छ ।
निर्माण कम्पनीका इन्जिनियर ईश्वर नेपालका अनुसार सडकबाट करिब १०० मिटर माथि डाँडामा मेसिन पुर्याएर पहिरोको जोखिमयुक्त भाग काट्ने काम भइरहेको छ । जोखिमपूर्ण काम भएकाले अपेक्षाअनुसार प्रगति हुन नसकेको उनले बताए ।
मङ्गलबार माथिल्लो ढिस्को खसेर स्काभेटर पुरिएको थियो । पहिरो पन्छाएर पुनः स्काभेटरबाट काम सुरु गरिएको नेपालले जानकारी दिए । सम्भव भएसम्म थप एउटा मेसिनसमेत डाँडामा पठाउने तयारी भइरहेको उनले बताए ।
यसैबीच, सडक बन्द भएको समयमा चुम्लिङटार र कुरिनटारको बीचमा पर्ने डाहाकी खोलामा पनि सडक चौडा पार्ने काम भइरहेको छ । उक्त क्षेत्रमा करिब १०० मिटर लम्बाइमा सडक दुई मिटर चौडा बनाउनुपर्ने भएकाले दुईवटा स्काभेटर र एउटा लोडर प्रयोग गरी भित्तो काट्ने काम भइरहेको छ ।

