Harsamaya
वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल बन्दै
वीर अस्पताल ।

काठमाडौं - काठमाडौंको वीर अस्पतालका नयाँ र पुराना भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुने भएको छ। काठमाडौँ महानगरपालिकाले अस्पतालका दुई भवनबीच बिरामीलाई सहज आवतजावत गराउने उद्देश्यले पुल निर्माण गर्न लागेको हो।

काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले पुल निर्माणको शिलान्यास गरेकी छिन् । उक्त पुल निर्माणका लागि ४ करोड ७१ लाख ३४ हजार ७२७ रुपैयाँ लागत लाग्नेछ। निर्माण कार्य आगामी कात्तिक ३० गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

निर्माण हुने पुलको दुवैतर्फ अस्पतालमा प्रयोग हुने शय्यासमेत सहजै ओसारपसार गर्न मिल्ने गरी लिफ्ट जडान गरिनेछ। यसले बिरामीलाई एक भवनबाट अर्को भवनमा लैजान सहज बनाउनेछ।

हाल वीर अस्पतालको मेडिकल वार्ड र शल्यक्रिया वार्ड रहेका भवनबीच महाबौद्धतर्फ जाने मूल सडक रहेकाले बिरामीलाई सडक पार गराएर लैजानुपर्ने बाध्यता छ। आकासे पुल र लिफ्ट सञ्चालनमा आएपछि बिरामीलाई सडक पार गराउनुपर्ने समस्या अन्त्य हुने अपेक्षा गरिएको छ।

काठमाडौं महानगरपालिकाको सार्वजनिक निर्माण विभागका इन्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार पुलका दुवैतर्फ अस्पताल परिसरभित्रै लिफ्ट र भर्‍याङसमेत निर्माण गरिनेछ। यसबाट अस्पतालका दुई भवनबीच बिरामी, स्वास्थ्यकर्मी तथा अन्य सेवाग्राहीको आवतजावत थप सहज हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: बिहीबार, मंसिर १०, २०८३  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update