Harsamaya

जनकपुर - पूर्वराज्यमन्त्री संजय साह ‘टकला’ लाई रिहा गर्न माग गर्दै जनकपुरधाममा विरोध प्रदर्शन गरिएको छ ।

जनकपुरधामका स्थानीय, युवा, महिलाहरुको एक समूहले पूर्वराज्यमन्त्री साहलाई रिहा गर्नुपर्ने माग राख्दै जनकपुरधाममा र्‍याली निकालेका छन् ,भने जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर विरोध प्रदर्शनसमेत गरेका छन् । 

उनीहरुले संजय साहलाई न्याय दे, मुद्दाको फैसला छिटो गर, मान्छे फसाउन पाईंदैन, झुठा मुद्दा खारेज गर जस्ता नारा लगाउँदै सरकारप्रति विरोध जनाएका छन् । साथै उनीहरुले चार बुंदे मागसहित प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापन पत्र बुझाएका छन् ।

कुनै पनि मुद्दाको फैसला तीनै तहको अदालतबाट बढीमा तीन वर्षभित्र अन्तिम किनारा लगाउनुपर्नेमा पूर्वराज्यमन्त्री साहलाई १२ वर्षभन्दा बढी समय भइसक्दा पनि मुद्दाको फैसला नगरी जबरजस्ती कारागारमा राखेको प्रदर्शनकारीहरुको भनाई छ । 

पूर्वराज्यमन्त्री साहमाथि लगाइएका मुद्दाहरु झुठो रहेको र विगतका सरकारले नियतवश साहलाई कारागारभित्र थुनेको प्रदर्शनकारी राजेश महतोको भनाई छ । उनले अहिलेको सरकारले जनताको भावनालाई बुझ्ने विश्वास व्यक्त गरे । 

गैरकानुनी रुपमा फसाएर वर्षौदेखि कारागारमा थुनेर राखेको साहलाई अहिलेको सरकारले न्याय दिने जनकपुरवासीको विश्वास रहेको महतोले बताए ।

महतोले आजबाट एउटा संघर्षको घोषणा गरेको बताए । उनले ज्ञापनपत्रमा उल्लेख गरिएका चारवटा माग पूरा नभए सशक्त आन्दोलनमा उत्रिने र आमरण अनशनमा बस्नेदेखि लिएर आत्मदाह गर्नेसम्मको चेतावनी दिए । 

महतोले पूर्वराज्यमन्त्री साहको मुद्दा एक महिनभित्र फैसला गर्नुपर्ने, मुद्दाको सुनुवाई हुनेबेला प्रत्यक्ष प्रसारण गर्नुपर्ने, साहमाथि लगाईएका झुठा मुद्दाहरु खारेज गर्नुपर्ने र ती झुठा मुद्दा लगाउनेहरुमाथि पनि कारवाही हुनुपर्ने आफूहरुको माग रहेको जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, मंसिर ९, २०८३  २१:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update