लमजुङ - शिवरात्रिमा रातभर उभिएर महादेवको नाउँमा बत्ती बाल्दा सन्तान प्राप्ति हुने विश्वासका कारण यहाँको ईशानेश्वर महादेव मन्दिरमा बत्ती बाल्न आज देशका विभिन्न स्थानबाट भक्तजनहरु करापुटार आइपुगेका छन् ।
लमजुङ र कास्कीको सिमानामा पर्ने ईशानेश्वरलाई सन्तानेश्वर महादेवको नामले समेत चिनिन्छ । यहाँ बर्सेनि हजारौँले भक्तजनले ठाडो बत्ती बाल्ने गर्दछन् । सन्तान प्राप्तिका लागि बत्ती बाल्नेहरू सन्तान प्राप्त भएपछि आफ्ना सन्तान देखाउनसमेत यहाँ आउने गर्छन् ।
रातभर जाग्राम रहनेलाई मनोरञ्जन प्रदान गर्न विभिन्न किसिमका कार्यक्रम आयोजना गरिने ईशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिले जनाएको छ । यस वर्षदेखि मन्दिर परिसरमा १०८ धारा र गौरीकुण्डसमेत निर्माण गरिदिएकाले मेला भर्नेको सङ्ख्या वृद्धि भएको समितिले जनाएको छ ।
लमजुङ, तनहुँ, गोरखा, स्याङ्जा, चितवन, कास्की, बागलुङ, काठमाडौँलगायतका जिल्ला र भारतबाटसमेत यहाँ भक्तजन आएका छन् । यस वर्ष दुई दिनसम्म सञ्चालन हुने गरी खुल्ला भजन प्रतियोगितासमेत आयोजना गरिएको छ ।

