काठमाडौं - गोर्खा बक्सिङ च्याम्पियनसिपको दोस्रो संस्करण काठमाडौंमा सम्पन्न भएको छ । गोर्खा प्रोमोसन्सको आयोजनामा सम्पन्न च्याम्पियनसिपमा नेपाल र भारतका बक्सरहरूले विभिन्न तौल समुहमा प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितामा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन् । शनिबार सम्पन्न खेलहरूमा रामेछापका विवेक मगरले चितवनका आयुष अधिकारीलाई सर्वसम्मत निर्णयबाट पराजित गरे ।
हेटौँडाका सोहन राईले पनि गुल्मीका रविन केसीमाथि सर्वसम्मत (युनानिमस) निर्णयबाट जित आफ्नो पक्षमा पारे।
प्युठानका मिलन सार्कीले भारतीय बक्सर साहिल चौहानलाई पहिलो राउन्डको १३ सेकन्डमै नकआउट गरे । मिलनको उक्त प्रदर्शनबापत आयोजक गोर्खा प्रोमोसन्सले नगद ५० हजार रुपैयाँ बोनस प्रदान गरेको आयोजक संस्थाका अध्यक्ष सन्तोषबहादुर शाहले जानकारी दिए ।
यस्तै पाँचथरका फुङलाङ काम्बाङले भारत हरियाणाका लक्ष्य सुनारियालाई सर्वसम्मत (युनानिमस)निर्णयबाट हराए। गोर्खाका अर्पिल राना र भारतको शिलोङका सानबोरलाङ मारबानियाङबीचको भिडन्त भने बराबरीमा सकिएको थियो ।
६ राउन्डको अर्को प्रतिस्पर्धामा भारतीय बक्सर अंकितकुमारले नेपालका भरत चन्दलाई सर्वसम्मत (युनानिमस) निर्णयबाट पराजित गरे ।
प्रतियोगिताको आकर्षण मानिएको महिलातर्फको खेलमा नेपाली महिला बक्सर पूनम पुन मगरले भारत राजस्थानकी मेहकप्रित सिद्धुलाई पराजित गरिन् । उक्त खेलमा पूनम सर्वसम्मत (युनानिमस) निर्णयबाट विजयी भएकी थिइन् ।
नेपाली बक्सरलाई अन्तर्राष्ट्रिय बक्सरसँग प्रतिस्पर्धा र अनुभवका लागि मञ्च उपलब्ध गराउँदै उनीहरूलाई भविष्यमा विश्व च्याम्पियनसिपको स्तरसम्म पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको अध्यक्ष शाहले बताए ।
ठमेलस्थित क्लब नोभामा सम्पन्न प्रतियोगितामा अन्तर्राष्ट्रिय एमएमए फाइटर रवीन्द्र ढाँट आकर्षणको केन्द्र बनेका थिए ।

