काठमाडौं - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिलाई लिएर विभिन्न जातजाति तथा समुदायलाई लक्षित गरी होच्याउने, अपमानित गर्ने तथा विपत्तिमा खुशी व्यक्त गर्ने किसिमको भिडियो सामाजिक सञ्जालमा प्रसारण गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार बैतडीको सुर्नया गाउँपालिका–७ स्थायी ठेगाना भई हाल काठमाडौँको चन्द्रागिरि नगरपालिका–१२, बलम्बु बस्दै आएका २४ वर्षीय वीरेन्द्र मडै पक्राउ परेका हुन्।
भोटेकोशीमा २०८३ भदौ १० गते आएको बाढीबाट ठूलो जनधनको क्षति भएको थियो। उक्त घटनासँग सम्बन्धित विषयमा विभिन्न जातजातिलाई लक्षित गरी अपमानजनक अभिव्यक्ति दिइएको तथा विपत्तिमा खुशी व्यक्त गरिएको भिडियो सामग्री सामाजिक सञ्जाल फेसबुकको रिलमार्फत प्रसारण भएको सम्बन्धमा साइबर ब्यूरोले अनुसन्धान थालेको थियो।
प्राविधिक विश्लेषण तथा अनुसन्धानका क्रममा उक्त भिडियो सामग्री प्रसारणमा मडैको संलग्नता खुलेपछि ब्यूरोबाट खटिएको टोलीले उनलाई २०८३ भदौ २० गते पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका मडैविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ।
सामाजिक सञ्जालमा जातजाति तथा समुदायलाई लक्षित गरी घृणा, अपमान वा सामाजिक सद्भावमा खलल पुर्याउने सामग्री प्रसारण नगर्न प्रहरीले आग्रह गर्दै आएको छ। विपद्का संवेदनशील घटनालाई लिएर सामाजिक सञ्जालमा सामग्री प्रकाशित गर्दा तथ्य, सामाजिक मर्यादा र पीडितको संवेदनशीलतालाई ध्यान दिनुपर्ने देखिन्छ।

