Harsamaya
‘ग्रीन आर्मी नेपाल खारेज भयो’ भन्ने समाचार भ्रामक
ग्रीन आर्मी नेपाल ।

काठमाडौं - सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा ‘ग्रीन आर्मी नेपाल संस्था खारेज भयो’ भन्ने समाचार सार्वजनिक भएपछि ग्रीन आर्मी नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

संस्थापक प्रमुख सविन शर्माद्वारा जारी प्रेस विज्ञप्तिमा संस्था खारेज भएको भन्ने समाचार तथ्यहीन, भ्रामक र अपुष्ट रहेको स्पष्ट पारिएको छ।

विज्ञप्तिमा संस्थाको आधिकारिक कानुनी अवस्था तथा सम्बन्धित नियममा रहेका अभिलेखको यथार्थ परीक्षण नगरी प्रकाशित तथा प्रसारित सामग्रीले संस्था आबद्ध विद्यार्थी, युवा, प्रशिक्षक, अभिभावक तथा शुभेच्छुकमा अनावश्यक भ्रम सिर्जना गरेको उल्लेख छ।

ग्रीन आर्मी नेपालले वातावरण संरक्षण, विपद् जोखिम न्यूनीकरण, उद्धार तथा राहत सहयोग, सरसफाइ, वृक्षरोपण, वातावरणीय सचेतना, नेतृत्व विकास, प्राथमिक उपचार, सामाजिक सेवा तथा विद्यालयस्तरीय विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

संस्थाको स्थापना तथा सञ्चालनसम्बन्धी विषयमा सार्वजनिक भएका गलत सामग्रीप्रति संस्था सचेत रहेको जनाउँदै आधिकारिक कार्यालय तथा सम्बन्धित सरकारी निकायमा रहेका प्रमाणित अभिलेखका आधारमा मात्र सूचना सार्वजनिक गर्न सञ्चारमाध्यम तथा सरोकारवालालाई आग्रह गरिएको छ।

त्यस्तै, कुनै संस्था खारेज भएको वा नभएको विषय सामान्य अनुमान वा सामाजिक सञ्जालमा फैलिएको सूचनाका आधारमा निष्कर्ष निकाल्ने विषय नभएको भन्दै सम्बन्धित निकायको आधिकारिक निर्णय तथा अभिलेखबाट पुष्टि गर्न विज्ञप्तिमार्फत अनुरोध गरिएको छ।

ग्रीन आर्मी नेपालले आफूले गर्दै आएका वातावरण संरक्षण, सामाजिक सेवा, विपद् व्यवस्थापन, उद्धार तथा राहतलगायत कार्यक्रमलाई उद्देश्यअनुसार निरन्तरता दिने स्पष्ट पारेको छ।

संस्थाले आम नागरिक, अभिभावक, विद्यार्थी, युवा, प्रशिक्षक, विद्यालय तथा शुभेच्छुकलाई सामाजिक सञ्जालमा फैलिएका अपुष्ट सामग्रीका आधारमा धारणा नबनाई ग्रीन आर्मी नेपालको आधिकारिक स्रोतबाट सूचना लिन आग्रह गरेको छ।

green-army-1788710669.jpg
 

प्रकाशित मिति: आइतबार, भदौ २१, २०८३  २१:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update