Harsamaya
रसुवाको बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३५३ पुग्यो, ९८ शवको सनाखत

काठमाडौं - रसुवाको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मध्ये हालसम्म १ हजार ३५३ जनाको शव फेला परेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी आएको १२औँ दिनसम्म खोज, उद्धार तथा राहत कार्य जारी रहँदा उक्त संख्यामा शव फेला परेको हो।

फेला परेका शवमध्ये ९८ वटाको सनाखत गरी परिवारलाई हस्तान्तरण गरिएको छ। बाँकी शवको पहिचान सहज बनाउन सबैको डीएनए नमूना संकलन भइरहेको प्राधिकरणले जनाएको छ।

सम्पर्कविहीन नागरिकका आफन्तलाई सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा पुगेर डीएनए नमूना दिन प्राधिकरणले आग्रह गरेको छ।

जलविद्युत् आयोजनाका सुरुङमा खोजी जारी
प्रभावित क्षेत्रका जलविद्युत् आयोजनाका सुरुङमा समेत खोजी कार्य जारी रहेको प्राधिकरणकी प्रवक्ता शान्ती महतले जानकारी दिनुभयो।

उहाँका अनुसार त्रिशूली–३ ‘ए’ मा १६० मिटर, त्रिशूली–३ ‘बी’ मा हेलिकप्टरमार्फत एक्जाभेटर पुर्‍याएर ३० मिटर, रसुवागढीमा २७५ मिटर, लाङटाङमा १५० मिटर र चिलिमेमा १७० मिटरसम्म टोली प्रवेश गरेको छ।

माथिल्लो त्रिशूली–१ को अडिट–३ बाट आईआर तथा थर्मल ड्रोनमार्फत खोजी गर्दा कुनै जीवित संकेत नदेखिएको र टनेल हेडदेखि टेलसम्म खोजी कार्य भने जारी रहेको महतले बताउनुभयो।

देवीघाट–ढुङ्गे सडक सञ्चालनमा
नेपाल प्रहरीको श्रव्य–दृश्य विज्ञ टोलीले ड्रोनमार्फत नदी किनारको निरीक्षण गरिरहेको छ। पर्यटक प्रहरीले विदेशी नागरिकका आफन्तलाई आवश्यक सहजीकरण गरिरहेको प्राधिकरणले जनाएको छ।

यातायाततर्फ देवीघाटस्थित तादी खोलामा अस्थायी पुल जडान कार्य जारी रहेको छ भने देवीघाट–ढुङ्गे सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आएको बताइएको छ।

प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा सञ्चार सेवा लगभग सुचारु भइसकेको छ भने अधिकांश स्थानमा विद्युत् सेवा पनि पुनःस्थापना भइसकेको छ।

प्रकाशित मिति: आइतबार, भदौ २१, २०८३  २१:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update