काठमाडौं - मेलम्ची नगरपालिका–१२ ले काठमाडौंको माकलबारीमा सञ्चालन गरेको सामाजिक सुरक्षा भत्ता नवीकरण शिविरबाट वडाका ६४ जना ज्येष्ठ नागरिकले भत्ता नवीकरण गरेका छन्।
ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि वडा कार्यालयसम्म धाउनुपर्ने बाध्यता हटाउँदै सहज र पहुँचयोग्य सेवा प्रदान गर्ने उद्देश्यले दुई दिनसम्म माकलबारीमा नवीकरण शिविर सञ्चालन गरिएको हो।
विशेषगरी अशक्त, अपाङ्गता भएका तथा हिँडडुल गर्न कठिनाइ भएका नागरिकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले वडा कार्यालयले काठमाडौंमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गर्ने व्यवस्था मिलाएको जनाएको छ।
वडा सचिव कलाधर ढकालका अनुसार काठमाडौंमा बसोबास गर्दै आएका अपाङ्गता भएका तथा ह्विलचियरको सहायताले हिँडडुल गर्नुपर्ने वडाका १० जनाको भने उनीहरू बसोबास गरिरहेकै स्थानमा पुगेर एक दिन छुट्टै समय मिलाई भत्ता नवीकरण गर्ने लक्ष्य राखिएको छ।
मेलम्ची नगरपालिका–१२ का वडाध्यक्ष गणेश तामाङले ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका नागरिकको सहजता र सुविधालाई प्राथमिकतामा राख्दै उनीहरू रहेकै स्थानमा पुगेर सेवा प्रदान गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको बताए ।
काठमाडौंमा बसोबास गर्दै आएका ज्येष्ठ नागरिकले आफ्नै बसोबास क्षेत्र नजिकैबाट सामाजिक सुरक्षा भत्ता नवीकरण गराउन पाएपछि वडा कार्यालयसम्म पुग्नुपर्ने झन्झट हटेको बताएका छन्। उनीहरूले स्थानीय सरकारबाटै घरनजिक सेवा पाउँदा समय र खर्च दुवै बचत भएको बताएका छन्।
लक्षित वर्गलाई सहज, पहुँचयोग्य र नागरिकमैत्री सेवा प्रदान गर्ने प्रयासस्वरूप शिविर सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ।
स्थानीय सरकार नागरिकप्रति उत्तरदायी बन्नुपर्ने मान्यतालाई आत्मसात् गर्दै आगामी दिनमा पनि ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका व्यक्ति तथा अन्य लक्षित वर्गलाई सहज रूपमा सेवा प्रवाह गर्ने वडाको प्रतिबद्धता रहेको छ।

