Harsamaya
भूकम्प गएको तीन वर्षपछि भूकम्पपीडितलाई आवास अनुदानको पहिलो किस्ता
 जाजरकोट भूकम्प ।

जाजरकोट - जाजरकोटका भूकम्प प्रभावित १८८ लाभग्राहीलाई निजी आवास पुनर्निर्माणका लागि पहिलो किस्ताको अनुदान रकम पठाइएको छ।

आवास पुनर्निर्माणका लागि सम्झौता गरेका लाभग्राहीको खातामा प्रतिघरधुरी ५० हजार रुपैयाँका दरले पहिलो किस्ताको रकम भुक्तानी गरिएको हो।

विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान (दोस्रो संशोधन) कार्यविधि, २०८३ अनुसार आवास पुनर्निर्माण सम्झौता सम्पन्न भएपछि अनुदान रकम लाभग्राहीको बैंक खातामा भुक्तानी गर्ने व्यवस्था छ।

पहिलो किस्ताको रकम प्राप्त गरेपछि लाभग्राहीले आवास निर्माणलाई अघि बढाउनुपर्नेछ। प्लिन्थ लेभलसम्म आवास निर्माण सम्पन्न भएपछि प्राविधिक जाँच पास प्रतिवेदनका आधारमा दोस्रो किस्ताको रकम उपलब्ध गराइनेछ।

भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माणलाई तीव्रता दिने उद्देश्यले सरकारले चरणबद्ध रूपमा लाभग्राहीलाई अनुदान रकम उपलब्ध गराउँदै आएको छ।

जाजरकोट केन्द्रबिन्दु भएर २०८० साल कात्तिक १७ गते शुक्रबार राति ११ बजेर ४७ मिनेटमा भूकम्प गएको थियो ।  

भूकम्पमा जाजरकोटमा १०१ र रुकुम पश्चिममा ५३ गरी १५४ जनाको मृत्यु भएको थियो भने ३ सय ६० भन्दा बढी घाइते भएका थिए।

प्रकाशित मिति: आइतबार, भदौ २१, २०८३  १५:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update