काठमाडौं - त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि दुई जनाको सकुशल जीवितै उद्धार गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उद्धार हुनेमा सुपरभाइजर कबीर महर्जन र फोरम्यान मेकानिक सञ्जय शाह रहेका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी उपसचिव, प्रवक्ता तथा सूचना अधिकारी शान्ति महतले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा उद्धार गरिएका दुवै जनालाई थप उपचारका लागि काठमाडौंको छाउनीस्थित श्री वीरेन्द्र अस्पताल ल्याइएको जानकारी दिइन् ।
उनका अनुसार सोही संयुक्त खोज तथा उद्धार टोलीले त्रिशूली–३ ‘ए’ को सुरुङबाट शुक्रबार एक जनाको शवसमेत निकालेको छ । सुरुङभित्र अझै कोही व्यक्ति रहे–नरहेको यकिन भइसकेको छैन । खोज तथा उद्धार टोलीले सुरुङभित्र ड्रिलिङ गर्दै थप व्यक्तिको खोजी कार्यलाई निरन्तरता दिइरहेको छ ।
सुरुङभित्र खोज तथा उद्धारका लागि आवश्यक भारी उपकरण घटनास्थलसम्म पुर्याउन सडक तथा भू–भागको अवस्थाका कारण समस्या भएको प्राधिकरणले जनाएको छ । दलदलयुक्त भू–भागका कारण भारी मेसिन दुई पटक लैजान खोज्दा पनि जमिनमा धसिने समस्या आएपछि त्यसलाई लैजान नसकिएको हो ।
हाल आवश्यक मेसिनका पार्टपुर्जा छुट्टाछुट्टै निकालेर घटनास्थलमा पुर्याई त्यहीँ जडान गर्ने तयारी भइरहेको छ । प्राविधिक रूपमा सम्भव हुने वैकल्पिक विधि अपनाएर सुरुङभित्रको खोज तथा उद्धार कार्य जारी राखिएको प्राधिकरणले जनाएको छ ।
त्रिशूली–३ ‘ए’ सहित अन्य जलविद्युत् आयोजनामा पनि थप उपकरण र प्राविधिक जनशक्ति परिचालन गरी खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ । हराइरहेका अन्य नागरिकलाई समेत सकुशल उद्धार गर्न सकिनेमा प्राधिकरण आशावादी रहेको जनाएको छ ।
यसैबीच, चीनमा अड्किएका थप १५५ जना नेपालीको नामसहितको सूची चिनियाँ पक्षबाट प्राप्त भएको प्राधिकरणले जनाएको छ । यसअघि बिहीबार चीनमा अड्किएका ११३ जना नेपाली नेपाल आइपुगेका थिए ।
प्राधिकरणका अनुसार थप १५५ जनामध्ये १०९ जना पुरुष र ४६ जना महिला छन् । प्रारम्भिक विवरणअनुसार उनीहरूमध्ये १४५ जना रसुवा, एक जना धादिङ र नौ जना काठमाडौंका रहेका छन् ।
उनीहरूको नामसहितको विवरण प्राप्त भए पनि विस्तृत विवरण अझै आइनसकेको प्राधिकरणले जनाएको छ । नामावली भेरिफाइ गरी सार्वजनिक गरिने बताइएको छ ।
चीनबाट आउने नेपालीको व्यवस्थापनका लागि प्राधिकरणको क्लस्टरमा १५ वटा मोबिलाइजेसन टिम परिचालन गरिएको छ । क्याम्प व्यवस्थापनसम्बन्धी टोलीले जिल्ला प्रशासन कार्यालय र सम्बन्धित स्थानीय तहसँगको समन्वयमा उनीहरूलाई कहाँ राख्ने र आवश्यक व्यवस्थापन कसरी गर्ने भन्ने काम गरिरहेको छ ।
हाल रसुवा, नुवाकोट र धादिङका ३७ वटा होल्डिङ सेन्टरमा ४ हजार ६२७ जना मानिस रहेको प्राधिकरणले जनाएको छ ।
रसुवामा आएको बाढीबाट भएको क्षति तथा आवश्यक स्रोत पहिचानका लागि गठित र्यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट (आरडीएनए) टोलीले प्रारम्भिक प्रतिवेदन बुझाएको छ । प्रारम्भिक आँकलन विस्तृत क्षति विवरण नभएको प्राधिकरणले स्पष्ट पारेको छ ।
प्रारम्भिक प्रतिवेदनअनुसार बाढीबाट ७ हजार ५७० घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । क्षतिग्रस्त घरधुरीका आधारमा प्रत्यक्ष रूपमा ३२ हजार ९३३ जना प्रभावित भएको अनुमान गरिएको छ ।
त्यसैगरी ४८ वटा सरकारी संरचनामा क्षति पुगेको छ । तीमध्ये ३५ वटा पूर्ण रूपमा र १३ वटा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् ।
बाढीबाट १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा र सात वटा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । स्वास्थ्य संस्थातर्फ चार वटा पूर्ण र तीन वटा आंशिक गरी सात वटा संस्थामा क्षति पुगेको प्रारम्भिक विवरणमा उल्लेख छ ।
सडकतर्फ ५५ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । त्यस्तै ३७ वटा मोटरेबल पुल र ६८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ ।
बाढीबाट १ हजार ८०६ हेक्टर कृषियोग्य जमिनमा क्षति पुगेको अनुमान गरिएको छ । यसका कारण करिब ७ हजार ६८६ मेट्रिक टन खाद्यान्न उत्पादनमा ह्रास आउने प्रारम्भिक आँकलन गरिएको छ ।
बाढीबाट पाँच जिल्लामा पशुपन्छी तथा कुखुरापालन क्षेत्रमा समेत प्रभाव परेको छ । प्रभावित क्षेत्रमा १७ वटा बैंकका शाखा पनि प्रभावित भएका छन् ।
ऊर्जा क्षेत्रतर्फ ७८३ मेगावाट विद्युत् उत्पादनमा प्रभाव परेको छ । प्रभावित क्षेत्रमा १३ वटा जलविद्युत् आयोजना, एउटा सोलार प्लान्ट र दुई वटा प्रसारण लाइनमा क्षति पुगेको प्रारम्भिक विवरण प्राधिकरणले सार्वजनिक गरेको छ ।

