Harsamaya
उपत्यका बाहिरै ग्यास भरेर काठमाडौं पठाउन थालियो
सांकेतिक तस्वीर: हर समय/Har Samaya

चितवन - पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक भासिएपछि काठमाडौंमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन उपत्यका बाहिरै सिलिन्डरमा ग्यास भरेर पठाउन थालिएको छ।

ग्यास बोकेका बुलेट वैकल्पिक मार्ग हुँदै समेत काठमाडौं प्रवेश गर्न नसकेपछि विभिन्न उद्योगले राजधानी बाहिरका उद्योगसँग समन्वय गरी सिलिन्डरमा ग्यास भरेर ट्रकमार्फत काठमाडौं पठाउन थालेका हुन्।

साल्ट ट्रेडिङ कर्पोरेशनको एसटिसी ग्यास वीरगन्जस्थित मनोज ग्यासमा भरेर काठमाडौं पठाउन थालिएको छ। चितवनको बाबा ग्यासले मंगलबार मात्रै श्री ग्यासका १ हजार ५ सय सिलिन्डर भरेर पठाएको सञ्चालक विमल कालाखेतीले जानकारी दिए । 

त्यस्तै, चितवनकै साइबाबाले आफ्ना ९ सय सिलिन्डर, नेपाल ग्यास गण्डकीले बालाजुको नेपाल ग्यासका १ हजार २ सय सिलिन्डर भरेर काठमाडौं पठाएका छन्।

गैँडाकोटको जानकीमा नौबिसेको श्रीराम, हेटौँडाको साहारामा काठमाडौंका एभरेष्ट र सुगम ग्यास भरेर पठाइएको छ। बनेपाको सगरमाथाले परासीको चण्डी ग्यास तथा बनेपाका लोकप्रिय, सुपर र तारा ग्यासलगायतले पनि राजधानी बाहिरका विभिन्न उद्योगमा ग्यास भरेर त्रिभुवन राजपथ हुँदै काठमाडौं पठाउन थालेका छन्।

नेपाल एलपी ग्यास उद्योग सङ्घका सदस्यसमेत रहेका कालाखेतीका अनुसार भारतबाट आउने ग्यासको आपूर्ति घटेको छैन। बुलेट काठमाडौं पुर्‍याउन नसकेका उद्योगले अन्य उद्योगमा ग्यास भरेर ट्रकमार्फत पठाइरहेकाले बजारमा ग्यास अभाव नहुने उनको भनाइ छ।

उहाँका अनुसार गत महिना भारतबाट ६० हजार २ सय मेट्रिकटन एलपी ग्यास नेपाल भित्रिएको थियो, जुन हालसम्मकै उच्चमध्ये एक हो।

नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष देवान चन्दले नेपाल आयल निगमले उद्योगीलाई राजधानी बाहिर ग्यास भर्न अनुमति दिएको बताए । उपत्यका र आसपासका १६ उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर तथा नवलपरासीका उद्योगसँग समन्वय गरी ग्यास भरेर उपत्यका पठाउन थालेका छन्।

उपत्यका र आसपासका जिल्लामा देशभर खपत हुने एलपी ग्यासको करिब ४० प्रतिशत खपत हुने भएकाले वैकल्पिक व्यवस्थामार्फत आपूर्ति कायम राखिएको सङ्घले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, भदौ १८, २०८३  ०७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update