Harsamaya
पाँचपोखरीले दियो स्थानीय तहलाई नै राहत, तीन वटा पालिकालाई १२ लाख सहयोग गर्ने
पाँचपोखरी थाङ्पाल गाउँपालिका ।

सिन्धुपाल्चोक - रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि पाँचपोखरी थाङ्पाल गाउँपालिकाले रु. १२ लाख आर्थिक सहयोग गर्ने भएको छ।

गाउँ कार्यपालिकाको भदौ १५ गते बसेको बैठकले प्रभावित छिमेकी स्थानीय तहहरूलाई सहयोग गर्ने निर्णय गरेको हो। जसअनुसार गोसाइँकुण्ड गाउँपालिकालाई रु. ५ लाख, उत्तरगया गाउँपालिकालाई रु. ५ लाख र आमाछोदिङ्मो गाउँपालिकालाई रु. २ लाख उपलब्ध गराइनेछ।

यस्तै, गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी तथा सामुदायिक विद्यालयका शिक्षक–कर्मचारीको सुरु तलब स्केलका आधारमा तीन दिन बराबरको तलब कट्टा गरी राहतमा योगदान गर्ने निर्णयसमेत गरिएको छ।

गाउँपालिकाले प्राकृतिक विपत्तिको कठिन घडीमा पीडितको राहत तथा पुनःस्थापनाका लागि स्थानीय तह, संघसंस्था र नागरिकलाई एकजुट भएर सहयोग गर्न आह्वान गरेको छ।

प्रकाशित मिति: मंगलबार, भदौ १६, २०८३  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update