काठमाडौं - बाढी र पहिरोका कारण चीनसँगको उत्तरी स्थल व्यापारमा समस्या बढ्दै गएको छ। रसुवागढी नाका प्रभावित रहेकै बेला तातोपानी नाकाबाट हुने कार्गो ढुवानीसमेत पुनः अस्थायी रूपमा रोकिएको छ।
चिनियाँ पक्षको सूचनाका आधारमा भदौ दोस्रो साताबाट तातोपानी नाकाबाट सामान आयात सुरु भएको थियो। भदौ १२ गते आठ वटा कन्टेनर नेपाल भित्रिए पनि त्यसपछि थप कन्टेनर आउन सकेका छैनन्।
नेपालतर्फको सडक साउन १ गतेदेखि नै बिग्रिएपछि नाका लामो समय सामान ढुवानीका लागि प्रभावित भएको थियो। सडक विभागले मर्मत गरी अस्थायी रूपमा सञ्चालनमा ल्याएपछि कार्गो आवागमन खुलेको थियो। तर अहिले चिनियाँ पक्षले पुनः अस्थायी रूपमा ढुवानी रोकेको हो।
तातोपानी भन्सार कार्यालयका प्रमुख अधिकृत दीपेन्द्रप्रकाश गिरीका अनुसार नाका पुनः कहिले खुल्छ भन्ने निश्चित मिति छैन। चिनियाँ पक्षले सञ्चालन सुरु हुनेबित्तिकै जानकारी दिने बताएको छ।
रसुवागढी नाका पनि बाढीका कारण प्रभावित रहेकाले तातोपानीमा समेत कार्गो रोकिँदा चीनसँगको स्थल व्यापारका लागि तत्काल कोरला नाकामा निर्भर हुनुपर्ने अवस्था देखिएको छ। रसुवागढीबाट ल्याउन नसकिएका सामान तातोपानी हुँदै ल्याउने व्यवसायीको प्रयाससमेत रोकिएपछि व्यापारमा थप दबाब परेको छ।
नेपाली अधिकारीहरूले नेपालतर्फको सडकको खराब अवस्था र ठाउँ–ठाउँमा गएको पहिरोका कारण चिनियाँ पक्षलाई सीमामा काम गर्नसमेत कठिनाइ भएको हुन सक्ने अनुमान गरेका छन्। सीमामा खटिएका चिनियाँ भन्सार कर्मचारीलाई समेत बोर्डरबाट माथि खासातर्फ सारिएको बताइएको छ।
सामान्य अवस्थामा तातोपानी नाकाबाट दैनिक १० भन्दा बढी कन्टेनर सामान नेपाल भित्रिने गरेको थियो। अहिले भने भन्सारमा जाँचपास हुन बाँकी सामानको मात्रा धेरै नरहेको जनाइएको छ।
चिनियाँ अधिकारीसँग प्रत्यक्ष भेटवार्ता गर्न सहज अवस्था नरहेकाले नेपाली पक्षले मितेरी पुलको बीच भागमै बसेर भए पनि छलफल गर्न प्रस्ताव पठाएको छ। चिनियाँ पक्षको जवाफपछि नाकाको पछिल्लो अवस्थाबारे थप निर्णय गरिने नेपाली अधिकारीहरूले बताएका छन्।

