Harsamaya
 १२७ नेपालीसहित ६६७ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?
रसुवा बाढी ।

काठमाडौं - रसुवा, नुवाकोट, धादिङ र गोरखामा भदौ १० गते आएको भोटेकोशी तथा त्रिशूली नदीको बाढीपछि १२७ नेपालीसहित ६६७ जना सम्पर्कविहीन रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ।

बोर्डले जारी गरेको ‘सिचुएसन अपडेट–५’ अनुसार प्रभावित क्षेत्रबाट ३१ जना विदेशी नागरिकको उद्धार गरिएको छ। उद्धार गरिएकामा भारतका ११, दक्षिण कोरियाका चार, अमेरिकाका दुई, रुसका दुई, इटालीका दुई, बुल्गेरियाका एक, स्विट्जरल्यान्डका एक र राष्ट्रियता पुष्टि हुन बाँकी आठ जना छन्।

पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी तथा पर्यटन क्षेत्रका सरोकारवाला निकायले प्रभावित क्षेत्रमा रहेका पर्यटक तथा यात्रुको अवस्था पहिचान र उद्धारका लागि समन्वय गरिरहेका छन्।

यात्रा तथा पदयात्रा कम्पनी, पर्यटक गाइड, स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी बेपत्ता तथा सम्पर्कविहीन यात्रुको अवस्था पुष्टि गर्ने काम भइरहेको बोर्डले जनाएको छ। विभिन्न निकायबाट प्राप्त विवरणलाई नियमित रूपमा रुजु गरी अद्यावधिक गर्ने कार्यसमेत जारी छ।

बोर्डले आपत्कालीन सहयोगका लागि टोल फ्री १२३४, हटलाइन ११४४ र पर्यटक प्रहरी ९८५१२८९४४५ मा सम्पर्क गर्न आग्रह गरेको छ। प्रभावित क्षेत्रका नागरिक तथा पर्यटकलाई शान्त रहन, आधिकारिक सूचना मात्र पछ्याउन र सुरक्षा निकायको निर्देशन पालना गर्न पनि अनुरोध गरिएको छ।

tourist-1787991111.jpeg

प्रकाशित मिति: शनिबार, भदौ १३, २०८३  १३:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update