काठमाडौं - गायिका समीक्षा अधिकारीले आफूलाई करिब डेढ वर्षदेखि एउटै व्यक्तिले फरक–फरक मोबाइल नम्बरबाट लगातार फोन गरिरहेको बताएकी छन्।
सामाजिक सञ्जालमार्फत उनले फोन उठाउँदा आफूलाई ‘रमेश शाही’ भनेर चिनाउने गरेको तर फोन गर्नुको कारणबारे सोध्दा आफ्नो नामबाहेक अन्य स्पष्ट कुरा नगर्ने बताएकी छन्।
उनका अनुसार एउटा नम्बर ब्लक गरेपछि अर्को नम्बरबाट पुनः फोन आउने क्रम रोकिएको छैन। डेढ वर्षको अवधिमा आफूले करिब ५०० वटा फरक–फरक नम्बर ब्लक गरिसकेको उनले उल्लेख गरेकी छन्।
अझै पनि अरू व्यक्तिको मोबाइल नम्बर प्रयोग गरेर आफूलाई फोन गर्ने क्रम जारी रहेको भन्दै अधिकारीले चिनजानका व्यक्तिहरूलाई आफ्नो मोबाइल नम्बर कसैलाई दिनुअघि कारण बुझ्न आग्रह गरेकी छन्।
उनले आफ्नो नम्बर माग्ने व्यक्तिको उद्देश्य बुझेर मात्र नम्बर उपलब्ध गराउन अनुरोध गर्दै अन्य व्यक्तिहरूलाई पनि आफ्नो मोबाइल नम्बर सोचविचार गरेर मात्र दिन आग्रह गरेकी छन्।
यो विषय कसैलाई अनावश्यक आरोप लगाउने उद्देश्यले नभई लामो समयदेखि भइरहेको व्यवहार रोकियोस् भन्ने उद्देश्यले सार्वजनिक गरेको उनले स्पष्ट पारेकी छन्।

