Harsamaya
नागको पूजा–आराधना गरी नागपञ्चमी  मनाइँदै
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - श्रावण शुक्ल पञ्चमीका अवसरमा आज नागपञ्चमी पर्व परम्पराअनुसार नागको पूजा–आराधना गरी मनाइँदैछ। अधिकमासका कारण यस वर्ष नागपञ्चमी सौरमासअनुसार भदौ १ गते परेको हो।

नागपञ्चमीका दिन घरको मूलढोकामाथि विधिपूर्वक नागको तस्वीर टाँस्ने तथा नागलाई दूध, अक्षता, दुबो, खीर, रोटीलगायत प्रसाद चढाउने परम्परा छ। नागको पूजा गरेमा सर्प, बिच्छीलगायत जीवबाट हुने भय तथा अग्नि, मेघ र चट्याङको जोखिमबाट बचिने धार्मिक विश्वास छ।

वैदिक परम्परामा नागलाई सर्पको राजा मानिन्छ। पानी र वर्षासँग नागको सम्बन्ध रहेको विश्वासका कारण वर्षाका लागि नागलाई प्रसन्न पार्न पूजा गर्ने परम्परा बसेको मानिन्छ। अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागको विशेष पूजा गर्ने चलन छ।

आज काठमाडौँको नागपोखरी, टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागस्थान, नागदह तथा कुण्डमा विशेष पूजाआजा भइरहेको छ।

नागपञ्चमीसँग विभिन्न धार्मिक किंवदन्ती जोडिएका छन्। किसानले नागका बच्चा मारेपछि नागिनीले किसानको परिवारलाई क्षति पुर्‍याएको र किसानकी छोरीले नागिनीको पूजा गरी परिवारलाई पुनर्जीवनको वरदान पाएको कथालाई नागपञ्चमीसँग जोडेर सुनाइन्छ।

नागपञ्चमीका दिन खेतबारी खनजोत नगर्ने तथा नाग, सर्पलगायत घिस्रने जीवलाई नमार्ने धार्मिक मान्यता पनि छ। नागपञ्चमीपछि हिन्दू धर्मावलम्बीका प्रमुख चाडपर्वको क्रमसमेत सुरु हुने मान्यता रहेको छ।

प्रकाशित मिति: सोमबार, भदौ १, २०८३  ०७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update