Harsamaya
बाह्रबिसेमा ढुङ्गा बोकेको टिपर पल्टिँदा एक जनाको मृत्यु
सांकेतिक तस्वीर: हर समय/Har Samaya

सिन्धुपाल्चोक - बाह्रबिसे नगरपालिका–८ मानेश्वरास्थित भित्री सडकमा ढुङ्गा बोकेको टिपर पल्टिँदा एक जनाको मृत्यु भएको छ।

बुधबार साँझ करिब ६:५० बजे मानेश्वरबाट बाह्रबिसेतर्फ आउँदै गरेको बा ५ ख ४११० नम्बरको टिपर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा टिपरमा सवार बाह्रबिसे–८ का २९ वर्षीय राजु लामा सडकछेउतर्फ हाम फालेका थिए। सोही क्रममा पल्टिएको टिपरले उनलाई च्यापेको थियो।

इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको टोलीले उद्धार गरी नगर अस्पताल बाह्रबिसे पुर्‍याए पनि उपचारका क्रममा साँझ ७:४५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरीले शव पोस्टमार्टमपछि मृतकका बुवा हिराबहादुर तामाङलाई जिम्मा लगाएको छ। दुर्घटनामा संलग्न टिपर चालक पाँचखाल नगरपालिका–१३, काभ्रेका २५ वर्षीय अनिस पाण्डेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, साउन २८, २०८३  १०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update