Harsamaya
बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु
सांकेतिक तस्वीर: हर समय/Har Samaya

कैलाली - कैलालीको घोडाघोडी नगरपालिका–४ जनकपुरमा बाल्टिनमा राखिएको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार मृत्यु हुनेमा स्थानीय दीपक सुवेदीका १८ महिनाका छोरा रामु सुवेदी रहेका छन्।

गाईवस्तुलाई खुवाउन राखिएको बाल्टिनको पानीमा बालक डुबेको अवस्थामा उनकी आमा देवकी सापकोटा सुवेदीले फेला पारेकी थिइन्।

आज बिहान करिब ११:३० बजे बाल्टिनबाट निकालेर तत्काल उपचारका लागि घोडाघोडी अस्पताल, सुखड पुर्‍याइएका बालकलाई चिकित्सकले दिउँसो करिब १२ः३० बजे मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार बालकको शव परीक्षणका लागि दोदोधरा अस्पताल, बौनिया पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रकाशित मिति: शनिबार, साउन २३, २०८३  २०:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update