Harsamaya
कर्णाली डेभलपमेन्ट बैंक घोटाला : तत्कालीन सिइओसहित तीन पक्राउ
कर्णाली डेभलपमेन्ट बैंक ।

बाँके - नेपालगन्जस्थित कर्णाली डेभलपमेन्ट बैंकको बहुचर्चित घोटाला प्रकरणमा फरार रहेका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओ) नीरजविक्रम शाहसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ पर्नेमा तत्कालीन सिइओ शाह, उनकी श्रीमती शुभेच्छा श्रेष्ठ र बैंकको नेपालगन्ज शाखाकी तत्कालीन शाखा प्रबन्धक दीपा थापा रहेका छन्। उनीहरूलाई बैंकिङ कसुर तथा आर्थिक अनियमिततासम्बन्धी मुद्दामा अनुसन्धानका लागि उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासमा उपस्थित गराइएको छ।

प्रहरीका अनुसार बैंकबाट ठूलो परिमाणमा कर्जा प्रवाह गर्दा आन्तरिक प्रक्रिया पालना नगरी नक्कली वा कमजोर धितोका आधारमा ऋण स्वीकृत गरिएको, धितो मूल्याङ्कन र कागजात व्यवस्थापनमा गम्भीर त्रुटि भएको आरोपमा अनुसन्धान अघि बढाइएको हो।

यसअघि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले रु ३ अर्ब २० करोडभन्दा बढी रकम अपचलन भएको दाबी गर्दै १०९ जनाविरुद्ध उच्च अदालत तुलसीपुरको नेपालगन्जस्थित वाणिज्य इजलासमा मुद्दा दायर गरेको थियो। हालसम्म केही प्रतिवादी पक्राउ परिसकेका छन् भने अधिकांश अझै फरार रहेका छन्।

यस प्रकरणमा बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, पूर्वअध्यक्ष पशुपतिदयाल मिश्र, वित्त शाखा प्रमुख वेदप्रकाशसिंह ठकुरी तथा नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेतलगायत पनि अनुसन्धानको दायरामा छन्।

बैंकको वित्तीय अवस्था लगातार कमजोर बन्दै गएपछि नेपाल राष्ट्र बैंकले गत पुस १० गते कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त संस्था घोषणा गर्दै यसको व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएको थियो। यस घटनाले बैंकिङ क्षेत्रको आन्तरिक नियन्त्रण, जोखिम व्यवस्थापन र नियामकीय निगरानीमाथि गम्भीर प्रश्न उठाएको छ।

प्रकाशित मिति: शुक्रबार, साउन २२, २०८३  २०:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update