Harsamaya
दुई समस्याग्रस्त सहकारीका ३४१ बचतकर्ताले पाए रकम फिर्ता
समस्याग्रस्त सहकारी व्यवस्थापन समिति ।

काठमाडौं - समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कान्तिपुर सेभिङ र पशुपति सहकारीका ३४१ जना बचतकर्तालाई बचत रकम फिर्ता गरेको छ।

समितिका अनुसार कान्तिपुर सेभिङ सहकारीका ३३४ जना र पशुपति सहकारीका ७ जना साना बचतकर्ताले पहिलो चरणमा आफ्नो बचत फिर्ता पाएका हुन्। सरकारले समस्याग्रस्त सहकारीबाट ऋण असुली गरी प्राप्त भएको रकमबाट बचतकर्तालाई भुक्तानी गरिएको जनाएको छ।

यस्तै, साउन १ देखि १५ गतेसम्म विभिन्न समस्याग्रस्त सहकारीका ६५ जना ऋणीबाट रकम असुल गरिएको समितिले जानकारी दिएको छ।

समितिका अनुसार पहिलो चरणमा न्यून बचत भएका बचतकर्तालाई प्राथमिकता दिइएको हो। आगामी दिनमा बचत रकमका आधारमा वर्गीकरण गर्दै अन्य बचतकर्तालाई पनि क्रमशः रकम फिर्ता गरिने जनाइएको छ।

समितिले समस्याग्रस्त सहकारीबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम कानुनी व्यवस्थाअनुसार सम्बन्धित सहकारीका बचतकर्तालाई निरन्तर फिर्ता गर्ने प्रक्रिया जारी रहने जनाएको छ।

प्रकाशित मिति: मंगलबार, साउन १९, २०८३  १०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update