काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुपाल्चोकको आन्तरिक विवादका कारण स्थगित भएको जिल्ला अधिवेशन आगामी साउन २२ गते पुनः सञ्चालन हुने भएको छ।
रास्वपाले देशभर गत जेठ २४ गते एकैसाथ जिल्ला अधिवेशन सुरु गरेको भए पनि सिन्धुपाल्चोकमा उद्घाटन सत्र सम्पन्न भएपछि बन्दसत्रमा विवाद उत्पन्न हुँदा अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको थियो।
निर्वाचन समितिका अनुसार अधिवेशन स्थगित हुनुअघि सम्पन्न भएका सबै निर्वाचन प्रक्रिया यथावत् रहनेछन्। उम्मेदवारी दर्तालगायत सम्पन्न भइसकेका प्रक्रियालाई निरन्तरता दिइनेछ भने बाँकी निर्वाचन कार्यक्रम नयाँ कार्यतालिकाअनुसार अघि बढाइनेछ।
जिल्ला सभापति पदका लागि जेपी सिलवाल, चक्रपाणि सिग्देल, पासाङ तामाङ, दिलमान श्रेष्ठ र कुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्। अधिवेशन पुनः सञ्चालन हुने निर्णयसँगै उनीहरूको उम्मेदवारी पनि यथावत् रहने रास्वपाले जनाएको छ।
सभापतिका उम्मेदवार जेपी सिलवालले केन्द्रीय निर्वाचन आयोगले नयाँ मिति घोषणा गरेसँगै अधिवेशन सफलतापूर्वक सम्पन्न गराउन आवश्यक छलफल र तयारी अघि बढाइने बताए।
उनले भने, ‘अहिलेसम्म नयाँ कुनै घटनाक्रम भएको छैन। केन्द्रीय निर्वाचन आयोगले भर्खरै नयाँ मिति घोषणा गरेको छ। अब अधिवेशन सफल बनाउन आवश्यक छलफल अघि बढाउँछौं।’
सिलवाल जुगल गाउँपालिका–४ बाट नेकपा (एमाले)को तर्फबाट निर्वाचित वडा सदस्य हुन्। उनी हालै प्रतिनिधिसभा सदस्य निर्वाचित भरत प्रसाद पराजुलीको पहलमा रास्वपामा प्रवेश गरेको बताइन्छ। पार्टीभित्र उनलाई केन्द्रीय सदस्य प्रमोद न्यौपाने र सांसद भरत प्रसाद पराजुलीको समर्थन रहने चर्चा भए पनि यसको औपचारिक पुष्टि भने भएको छैन।
यस्तै, सभापतिका अर्का उम्मेदवार पासाङ तामाङ रास्वपाका पूर्व उपसभापति हुन् भने चक्रपाणि सिग्देल पूर्व जिल्ला सचिव हुन्।सिग्देल लाई साङगठानिक क्षमता भएको प्रखर नेताको रुपमा परिचित छन। दिलराम श्रेष्ठ पूर्व कोषाध्यक्षका रूपमा जिम्मेवारी सम्हालिसकेका नेता हुन्।
अन्य पदमा पनि प्रतिस्पर्धा हुने देखिएको छ। उपसभापतिमा निमा याङछेन शेर्पा र ज्ञानी बस्नेत उम्मेदवारी छन् भने सचिवमा राजीव हमाल र सरोजा श्रेष्ठ दाबेदार रहेका छन्। सहसचिव पदमा दोर्जे तामाङ र विदुर खड्का उम्मेदवारी रहेको पार्टीका एक जिल्ला सदस्यले बताए।
जिल्ला अधिवेशनमा २८३ जना प्रतिनिधिले मतदान गर्ने निर्वाचन समितिले जनाएको छ। हाल क्षेत्र १ का माननीय भरत प्रसाद पराजुली र केन्द्रिय सदस्य प्रमोद न्यौपाने ले सभापति मा नया अनुहार लाई ल्याउन लबिङ गरेपछि जिल्ला अधिवेशन मा विवाद सिर्जना भएको रास्वपा जिल्ला नेताहरु बताउँछन।

