बँदेल मार्न लगेको भरुवा बन्दुक आफैं पड्किँदा एक व्यक्ति गम्भीर घाइते
काभ्रे - काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१, गैरीगाउँका ४६ वर्षीय थामी तामाङ आफैले बोकेको भरुवा बन्दुक अचानक पड्किँदा गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार तामाङ घरदेखि करिब दुई किलोमिटर पश्चिमतर्फ रहेको खेतमा जंगली बँदेलले मकैबाली नष्ट गरेको भन्दै बँदेल मार्न भरुवा बन्दुक बोकी गएका थिए। सोही क्रममा बन्दुक अचानक पड्किँदा उनी गम्भीर घाइते भएका हुन्।
घटनामा तामाङको दाहिने कोखा र पिठ्युँमा गम्भीर चोट लागेको छ। उनलाई तत्काल उपचारका लागि काठमाडौंस्थित वीर अस्पताल ल्याइएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, साउन १५, २०८३ २१:११
प्रतिक्रिया दिनुहोस्

