काठमाडौं - आज देशका अधिकांश भूभागमा बदली रहने तथा धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
महाशाखाका अनुसार दिउँसो हिमाली र पहाडी भूभाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने कोशी र मधेश प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ।
देशका पहाडी भूभागका धेरै स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ। कोशी प्रदेशको तराई र मधेश प्रदेशका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।
यस्तै, सुदूरपश्चिम प्रदेशको तराईका एक–दुई स्थानमा समेत भारी वर्षा हुन सक्ने भएकाले नदी–नाला आसपास, पहिरो प्रभावित क्षेत्र तथा डुबान हुन सक्ने स्थानका बासिन्दालाई विशेष सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
रातिको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी भूभागका केही स्थान तथा तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। राति विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

