Harsamaya
ट्रकमा आगलागी हुँदा चालकको जलेर मृत्यु
सांकेतिक तस्वीर: हर समय/Har Samaya

धनकुटा -  ट्रकमा आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ।

धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित तमोर करिडोर सडकखण्डमा ब्रेक फेल भएर दुर्घटना भएपछि ट्रकमा आगलागी हुँदा चालकको जलेर मृत्यु भएको हो । 

प्रहरीका अनुसार विराटनगरबाट ताप्लेजुङतर्फ जलविद्युत् आयोजनाका सामग्री बोकेर जाँदै गरेको प्रदेश १–०२–००१ क ५३६३ नम्बरको लोबेड ट्रक ब्रेक फेल भई सडकको भित्तामा ठोक्किएपछि अचानक आगलागी भएको थियो।

घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी पोस्ट फलामेटार र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो।

आगलागीमा परी ट्रक चालक भोजपुरका ३० वर्षीय विशाल राईको मृत्यु भएको प्रहरीले जनाएको छ। उनी आगो लागेपछि ट्रकबाट बाहिर निस्किए पनि शरीरमा गम्भीर जलन भएकाले घटनास्थलमै ज्यान गएको बताइएको छ।

दुर्घटनामा ट्रकका सहचालक तेह्रथुमको म्याङ्लुङ नगरपालिका–९ निवासी १८ वर्षीय सञ्जीव सङ्गौला भने सकुशल रहेका छन्।

प्रहरीले दुर्घटनाको कारण र आगलागीबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: मंगलबार, साउन १२, २०८३  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update