Harsamaya
७१ वर्षीया हजुरआमाले नदीमा हाम फालेर बचाइन् युवकको ज्यान
डुबिरहेका एक युवकको उद्धार गर्दै ।

काठमाडौं - चीनको पूर्वी आन्हुई प्रान्तकी ७१ वर्षीया एक वृद्धा महिलाले डुबिरहेका एक युवकको ज्यान बचाएर असाधारण साहस देखाएकी छन् । उनको बहादुरीको चौतर्फी प्रशंसा भइरहे पनि उनले भने कुनै प्रचार वा सम्मानको अपेक्षा नगरी चुपचाप घटनास्थल छाडेकी छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार घटना यसै महिनाको सुरुवाततिर भएको हो । अवकाशप्राप्त लिउ डेफाङ नदी किनारमा हिँडिरहेका बेला एक युवक नदीमा संघर्ष गरिरहेको देखिन्। नदीमा मौसमी बाढीका कारण पानीको गहिराइ करिब तीनदेखि चार मिटर थियो ।

युवक डुबिरहेको देखेपछि लिउले एकछिन पनि ढिला नगरी लाइफबोय समातेर नदीमा हाम फालिन् । उनले करिब आधा घण्टासम्म संघर्ष गर्दै युवकलाई किनारतर्फ तानिरहिन् । अन्ततः नदी किनारमा रहेका अन्य मानिसको सहयोगमा उनले युवकलाई सुरक्षित बाहिर निकाल्न सफल भइन् ।

उद्धार गरिएका युवकले आत्महत्या गर्ने प्रयास गरेको बताइएको छ । लिउले आफ्नो ज्यानको जोखिमसमेत बेवास्ता गर्दै उनको जीवन बचाउन सफल भएकी हुन् । उद्धारपछि युवक सुरक्षित भएको थाहा पाएलगत्तै लिउ भिजेको लुगामै चुपचाप घर फर्किइन् । उनले आफूले गरेको कामलाई सामान्य मान्दै कुनै प्रशंसा वा ध्यान आकर्षित गर्न चाहिनन् ।

घटनाका प्रत्यक्षदर्शीहरूले भने उनको साहसप्रति आश्चर्य व्यक्त गरेका छन्। प्रत्यक्षदर्शी वाङ हुइहुआले भने, ‘मैले घटनाको भिडियो बनाएर प्रहरीलाई देखाएँ । म उहाँको धेरै सम्मान गर्छु । म उहाँभन्दा धेरै कान्छो हुँ, तर मलाई पौडिन आउँदैन र पानीमा पस्न डर लाग्छ ।’

घटनाको भोलिपल्ट प्रहरीले लिउको पहिचान गरी उनको घरमै पुगेर धन्यवाद दिएको थियो । त्यसपछि नदी किनारमा फर्किएर घटनाबारे स्मरण गर्दै लिउले आफूले तत्काल मानिसको जीवन बचाउने सोच मात्रै राखेको बताइन् ।

‘मैले नदीमा मानिस डुबिरहेको देख्दा दुई पटक सोचिनँ । प्रत्येक सेकेन्ड महत्वपूर्ण थियो । जति छिटो उद्धार गर्न सक्यो, बाँच्ने सम्भावना त्यति नै बढी हुन्छ भन्ने लाग्यो। त्यो बेला मैले आफ्नो सुरक्षाबारे सोचिनँ, केवल उनलाई बचाउन चाहन्थें,’ लिउले भनिन् । ७१ वर्षको उमेरमा पनि देखाएको उनको साहस र निस्वार्थ भावनाको अहिले चीनभर प्रशंसा भइरहेको छ । 

प्रकाशित मिति: मंगलबार, साउन १२, २०८३  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update