विराटनगर - मोरङ प्रहरीले एक बालिकामाथि जबरजस्ती करणी तथा सामूहिक बलात्कार गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार साउन ३ गते बिहान करिब ९ बजे सुनवर्षी नगरपालिका की एक बालिकालाई रंगेली नगरपालिका–३ आमतोलाका १८ वर्षीय मोहम्मद अरमानले ललाईफकाई रंगेली नगरपालिका–७ स्थित युमी क्याफेमा लगेर विभिन्न प्रलोभनमा पारी जबरजस्ती करणी गरेका थिए। त्यसपछि सोही क्याफेका सञ्चालक सुनवर्षी नगरपालिका–९ का २१ वर्षीय सुमन कुमार साहले समेत बालिकामाथि जबरजस्ती करणी गरेको आरोप छ।
प्रहरीका अनुसार साउन ४ गते राति करिब ९ बजे रंगेली नगरपालिका–७ का २० वर्षीय करण मण्डलले पुनः पीडितलाई रंगेली–७ स्थित संसारी मन्दिरछेउ रहेको ‘द नाइनटीज क्याफे’मा लगेका थिए। त्यहाँ १८ वर्षीय प्रियान्सु साह र १८ वर्षीय रितिक यादवसँग मिलेर सामूहिक बलात्कार गरेको आरोप लागेको छ।
पीडितको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको संयुक्त प्रहरी टोलीले साउन १० गते पाँचै जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा रंगेली–३ का मोहम्मद अरमान, सुनवर्षी–९ का सुमन कुमार साह, रंगेली–७ का करण मण्डल र प्रियान्सु साह तथा रंगेली–६ का रितिक यादव रहेका छन्।
प्रहरीले पाँचै जनाविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ।

