Harsamaya
खेम सेन्चुरीदेखि शान्ति श्री परियारसम्म अवार्डको उत्कृष्ट पाँचमा
‘गरिमा नवौँ राष्ट्रिय लोकदोहोरी अवार्ड–२०८३’ ।

काठमाडौं - ‘गरिमा नवौँ राष्ट्रिय लोकदोहोरी अवार्ड–२०८३’ का लागि विभिन्न २४ विधामा उत्कृष्ट पाँच–पाँच कलाकारको मनोनयन सार्वजनिक गरिएको छ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, उपत्यका समन्वय समितिले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हरेक विधामा उत्कृष्ट पाँच कलाकार छनोट भएको जानकारी दिएको हो। निर्णायक समितिले रचना, शब्द, संगीत, सम्पादनलगायतका आधारमा २४ विधामा कुल १२० कलाकार छनोट गरेको जनाएको छ।

सर्वोत्कृष्ट लोकदोहोरी गायकतर्फ खेम सेन्चुरी, सागर आले, प्रकाश दुतराज, अर्जुन सापकोटा र कुशल बेल्वासे मनोनयनमा परेका छन् भने सर्वोत्कृष्ट लोकदोहोरी गायिकातर्फ शान्ति श्री परियार, शान्ता रानी परियार, दीपिका ब्यम्बो मगर, कालिका रोका र निशा गुरुङ उत्कृष्ट पाँचमा परेका छन्।

यसैगरी नवगायक, नवगायिका, शब्द, लय, गीत, लोकगीत, नृत्य, अभिनय, छायांकन, सम्पादन, मिक्सिङ–मास्टरिङलगायतका अन्य विधामा पनि उत्कृष्ट पाँच–पाँचको मनोनयन सार्वजनिक गरिएको छ।

आयोजकका अनुसार आगामी भदौ ६ गते काठमाडौंमा हुने अवार्ड समारोहमा दर्शकको भोटिङ र निर्णायक समितिको मूल्यांकनका आधारमा प्रत्येक विधाबाट एक–एक जना विजेता घोषणा गरिनेछ।

प्रकाशित मिति: आइतबार, साउन ३, २०८३  २१:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update