Harsamaya
 रसुवागढी जलविद्युत् आयोजना बन्द, भन्सार यार्डका सवारी सुरक्षित स्थानमा सारिए
गत साल गएको रसुवाको बाढी ।

रसुवा - ल्हेन्दे खोलामा पानीको सतह बढ्दै लेदोसहितको बाढी आउन थालेपछि पूर्वसावधानीस्वरूप १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन अस्थायी रूपमा बन्द गरिएको छ।

आयोजनाका प्रमुख सन्तोष अधिकारीका अनुसार सम्भावित जोखिमलाई ध्यानमा राख्दै आइतबार साँझदेखि उत्पादन रोकिएको हो। खोलाको अवस्था सामान्य रहेमा सोमबारदेखि पुनः उत्पादन सुरु गर्ने तयारी गरिएको उनले बताए । 

गत वर्ष असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले आयोजनाको बाँधसहितका संरचनामा ठूलो क्षति पुर्‍याएको थियो। त्यसपछि मर्मत गरी सञ्चालनमा ल्याइएको आयोजनालाई पुनः क्षति हुन नदिन सुरुङतर्फ पानी लैजाने गेट बन्द गरिएको हो।

रसुवागढी हाइड्रोपावरका कार्यकारी निर्देशक सत्यराम ज्याख्वाले खोलाको बहाव निरन्तर निगरानीमा रहेको र अवस्था सुरक्षित देखिएपछि मात्रै उत्पादन पुनः सुरु गरिने जानकारी दिए । 

यता, भोटेकोशी नदीमा पनि पानीको बहाव बढ्न थालेपछि रसुवागढी भन्सार यार्डमा रहेका मालवाहक ट्रक तथा नयाँ आयात गरिएका सवारीसाधन सुरक्षित स्थानमा सारिएको छ। बाढीको जोखिम बढेपछि यार्डको थप सुरक्षा र तटबन्ध निर्माण गर्न चालकहरूले सम्बन्धित निकायसँग माग गरेका छन्।

गोसाइँकुण्ड गाउँपालिका–२ का वडाध्यक्ष कामी छिरिङ तामाङले स्थानीयलाई ल्हेन्दे खोला र भोटेकोशी नदी आसपास नजान तथा नदी किनारमा सवारी नछोड्न आग्रह गरेका छन् । 

जिल्ला प्रशासन कार्यालयका अनुसार आइतबार साँझ आएको हल्का बाढीले मैलुङ सडकबाहेक अन्य स्थानमा ठूलो क्षति पुर्‍याएको छैन। मैलुङ सडक जोखिममा परेकाले केरुङ जाने–आउने सवारीलाई बेत्रावती–कालिकास्थान–धुन्चे–स्याफ्रुबेँसी हुँदै रसुवागढी पुग्ने पुरानो सडक प्रयोग गर्न प्रशासनले अनुरोध गरेको छ।

लगातारको वर्षासँगै नदी तथा खोल्सामा पानीको बहाव बढिरहेकाले जोखिमयुक्त क्षेत्रमा नजान, सतर्क रहन र कुनै पनि विपद्को अवस्था देखिए तत्काल सम्बन्धित निकायलाई खबर गर्न प्रशासनले सर्वसाधारणसँग अपिल गरेको छ।

प्रकाशित मिति: सोमबार, असार २९, २०८३  ०९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update