काठमाडौं - काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका गणेश नेपाली घटनासँग ट्राफिक प्रहरीले जरिवाना (फाइन) तिराएको भन्ने प्रचार पूर्ण रूपमा तथ्यहीन र भ्रामक रहेको जनाएको छ।
कार्यालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा ट्राफिक प्रहरीले जरिवाना तिराएकै कारण गणेश नेपालीले आत्मदाहको प्रयास गरेको भन्ने सामग्रीप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
विज्ञप्तिअनुसार घटनास्थलको वस्तुस्थिति तथा प्रारम्भिक अनुसन्धानका क्रममा गणेश नेपालीलाई ट्राफिक प्रहरीले कुनै पनि प्रकारको जरिवाना नगरेको र उक्त घटनासँग ट्राफिक कारबाहीको कुनै सम्बन्ध नरहेको स्पष्ट पारिएको छ।
ट्राफिक प्रहरीले घटनाको वास्तविक कारणबारे सम्बन्धित अनुसन्धान निकायबाट कानुनी प्रक्रिया अनुसार अनुसन्धान भइरहेको उल्लेख गर्दै आधिकारिक पुष्टि नभएका र सुरक्षा निकायको नाम जोडेर प्रसारित हुने भ्रामक सामग्रीले आम नागरिकमा भ्रम सिर्जना गर्ने जनाएको छ।
कार्यालयले अनुसन्धानको निष्कर्ष नआउँदासम्म कपोलकल्पित समाचार तथा अपुष्ट सूचना नप्रसारण गर्न र आधिकारिक तथ्यलाई मात्र आधार मानेर समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तासँग आग्रह गरेको छ।

