Harsamaya
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
सांकेतिक तस्वीर: हर समय/Har Samaya

एजेन्सी - युरोपेली संघ (ईयू)ले चीनमा निर्मित दुई लाखभन्दा बढी नक्कली कन्डम युरोपमा भित्र्याउने एउटा सञ्जालको पर्दाफास गरेको जनाएको छ ।

ईयूको ठगीविरोधी कार्यालय (ओएलएएफ)का अनुसार रोमानिया, सर्बिया र स्पेनमा ती नक्कली कन्डम बरामद गरिएको छ । अनुसन्धानबाट ती सामग्री चीनस्थित एक आपूर्तिकर्तासँग सम्बन्धित रहेको पत्ता लागेको छ ।

ओएलएएफका अनुसार ती कन्डममा एउटा प्रसिद्ध ब्रान्डको लोगो प्रयोग गरिएको थियो भने जाँचबाट बच्न तिनलाई ‘खेलौना’ भनेर लेबल लगाइएको थियो ।

चिनियाँ अधिकारीको सहयोगमा अनुसन्धान अघि बढाइएको र सञ्जालको स्रोत पत्ता लगाइएको ओएलएएफले जनाएको छ ।

ओएलएएफका महानिर्देशक पेटर क्लेमेन्टले नक्कली कन्डम स्वास्थ्यका लागि जोखिमपूर्ण हुने बताउनुभएको छ । उहाँले परीक्षण र गुणस्तर नियन्त्रणबिनाका यस्ता सामग्रीले यौनजन्य सङ्क्रमण फैलिन सक्ने चेतावनी दिएका छन् । 

ओएलएएफले नक्कली कन्डम आपूर्ति गर्ने चिनियाँ आपूर्तिकर्ता वा सञ्जालमा सङ्लग्न व्यक्तिमाथि गरिएको कारबाहीबारे भने विस्तृत जानकारी दिएको छैन ।
 

प्रकाशित मिति: मंगलबार, असार २३, २०८३  २१:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update