एजेन्सी - उत्तर कोरियाली नेता किम जोङ उन चीन र उत्तर कोरियालाई जोड्ने नवनिर्मित यालु नदी पुल हुँदै चीनको सीमावर्ती सहर डानडोङ पुगेका छन्।
सरकारी स्रोतलाई उद्धृत गर्दै योनहाप समाचार संस्थाले शनिबार यसबारे जानकारी दिएको हो।
योनहापका अनुसार, सरकारी स्रोतले किम उक्त दिनको सुरुमै नयाँ पुल हुँदै डानडोङ पुगेको पुष्टि गरेको छ।
चीनले चीन र उत्तर कोरियाबीचको सीमा निर्धारण गर्ने यालु नदीमाथि निर्माण गरिएको नयाँ पुल सञ्चालनमा आएको घोषणा गरेपछि यो घटनाक्रम सार्वजनिक भएको हो।
चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार, चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले अक्टोबर १४ मा उक्त पुलले दुई देशबीचको व्यापार तथा जनस्तरको आदानप्रदानलाई सहज बनाउने बताएकी थिइन्।
‘चीन र डीपीआरकेबीच भएको सहमतिअनुसार उक्त पुल बिहीबारदेखि औपचारिक रूपमा सञ्चालनमा आउनेछ। सोही दिन दुवै पक्षले संयुक्त रूपमा उद्घाटन समारोह आयोजना गर्नेछन्,’ माओले नियमित पत्रकार सम्मेलनमा भनेकी थिइन्।
चीन र उत्तर कोरियालाई ‘पहाड र नदीले जोडिएका मित्रवत् छिमेकी’ को संज्ञा दिँदै माओले नयाँ पुल दुई देशबीचको सम्पर्क सञ्जालका लागि महत्त्वपूर्ण पूर्वाधार भएको बताएकी थिइन्।
उनले उक्त पुलले द्विपक्षीय व्यापार र जनस्तरको आदानप्रदान बढाउनुका साथै दुवै देशका जनताको जीवनस्तर सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको पनि बताएकी थिइन्।
यसैबीच, उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले बिहीबार दक्षिणी सीमामा ‘नयाँ प्रतिकारात्मक साधन’ तैनाथ गर्ने र दक्षिण कोरियालाई लक्षित प्रचारप्रसारका लागि प्रयोग गरिने लाउडस्पिकर केही दिनभित्रै तयारी अवस्थामा राख्ने चेतावनी दिएकी छन्।
योनहाप समाचार संस्थाका अनुसार, उत्तर कोरियाली केन्द्रीय समाचार संस्था (केसीएनए) ले प्रकाशित गरेको वक्तव्यमा किम यो जोङले भनेकी छन्, ‘हाम्रा नयाँ प्रतिकारात्मक साधनहरू दक्षिणी सीमाको सम्पूर्ण क्षेत्रमा परिचालनका लागि सतर्क अवस्थामा राखिनेछन् र दक्षिण कोरिया गणतन्त्र (आरओके) विरुद्ध प्रयोग गरिने लाउडस्पिकर केही दिनभित्रै तयारी अवस्थामा रहनेछन्।’
योनहापका अनुसार, उनको यो भनाइ सार्वजनिक हुनुभन्दा एक दिनअघि उनले उत्तर कोरियाले यसै महिनाको अन्त्यतिर दक्षिण कोरियातर्फ प्रचारात्मक लाउडस्पिकर प्रसारण पुनः सुरु गर्ने चेतावनी दिएकी थिइन्। यसले दुई छिमेकी देशबीचको तनाव थप बढ्ने संकेत गरेको छ।
किम यो जोङले दक्षिणी सीमालाई थप मजबुत बनाउने प्योङयाङको प्रयासको पनि बचाउ गरेकी छन्। उनले उक्त निर्माण कार्य उत्तर कोरियाको आफ्नै भूभागभित्र निरन्तर जारी रहने बताएकी छन्।
यी घटनाक्रमबीच सामाजिक सञ्जालमा किम जोङ उनको गम्भीर मस्तिष्क रक्तस्रावका कारण मृत्यु भएको दाबीसमेत फैलिएको छ । यद्यपि, ती दाबी स्वतन्त्र रूपमा पुष्टि गर्न सकिने आधारहरु फेला परेका छैनन् ।
यसैबीच, उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले किम जोङ उनले एक प्रदर्शनीमा जुत्ता तथा महिलाका लुगाहरूको निरीक्षण गरिरहेको तस्बिर सार्वजनिक गरेको छ।
न्युयोर्क पोस्टका अनुसार, कोरियाली केन्द्रीय समाचार संस्थाले किमले सोमबार उक्त प्रदर्शनीको भ्रमण गरेको जनाएको छ। यद्यपि, ती तस्बिरको स्वतन्त्र रूपमा प्रमाणीकरण हुन सकेको छैन।
अमेरिकामा रहेका चिनियाँ असन्तुष्ट वानजुन सीले सामाजिक सञ्जालमा किम अस्पताल भर्ना भएको र सम्भावित उत्तराधिकारीसम्बन्धी संकटका बीच चीनले प्योङयाङमा सेना परिचालन गरेको दाबी गरेपछि यी अफवाह थप फैलिएका हुन्।
तर, उनका दाबीलाई पुष्टि गर्ने स्वतन्त्र रूपमा प्रमाणित गर्न सकिने आधार सार्वजनिक गरिएको छैन। (एएनआई, फोटो–रोयर्टस/एएनआई)

