Harsamaya

काठमाडौं - दशकौँअघि नेपालबाट चोरी भई अमेरिका पुर्‍याइएका दुई बहुमूल्य सांस्कृतिक सम्पदा नेपाललाई फिर्ता गरिएको छ। तेह्रौँ शताब्दीको कास्य निर्मित पद्मपाणी र सोह्रौँ शताब्दीको काठबाट बनेको नृत्यदेवीको मूर्ति औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो।

न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासमा आयोजित विशेष समारोहमा म्यानहटन जिल्ला सरकारी वकिलको कार्यालयले यी दुई मूर्तिको स्वामित्व नेपाललाई हस्तान्तरण गरेको हो। समारोहमा नेपाली महावाणिज्यदूत दधिराम भण्डारी र पुरातात्विक वस्तु तस्करी नियन्त्रण एकाइका प्रमुख कर्नेल म्याथ्यु बोग्डानोसले हस्तान्तरणसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका थिए।

महावाणिज्यदूतावासका अनुसार तेह्रौँ शताब्दीको पद्मपाणीको मूर्ति काठमाडौंको थमबहिल (विक्रमशील महाविहार) को महत्वपूर्ण कलाकृति हो। यसको अन्तिम अभिलेखीय तस्बिर सन् १९७१ मा खिचिएको थियो र त्यसपछि सन् १९७१ देखि १९७७ बीच कुनै समयमा अवैध रूपमा अमेरिका पुर्‍याइएको विश्वास गरिएको छ।

त्यस्तै, ललितपुरको इबहा बहीसँग सम्बन्धित सोह्रौँ शताब्दीको नृत्यदेवीको काष्ठमूर्ति सन् १९६९ र १९८३ बीच चोरी गरी अमेरिका लगिएको अनुमान गरिएको छ। उक्त मूर्ति पछि न्युयोर्कस्थित मेट्रोपोलिटन सङ्ग्रहालयबाट बरामद गरिएको थियो।

यी सम्पदाको खोजी तथा फिर्ती अमेरिकी गृह सुरक्षा अनुसन्धान निकाय, म्यानहटन सरकारी वकिलको कार्यालय र अन्य साझेदार संस्थाको सहकार्यमा सम्भव भएको हो। समारोहमा महावाणिज्यदूत भण्डारीले अमेरिकी सरकार, अनुसन्धान निकाय, सम्पदा संरक्षण अभियन्ता, सङ्ग्रहालय र नेपाली समुदायप्रति आभार व्यक्त गर्दै संयुक्त प्रयासले नेपालको अमूल्य सांस्कृतिक सम्पदा पुनः स्वदेश फर्काउन सफल भएको बताए।

दुवै मूर्तिलाई जुन २५ मा नेपाल पठाइने जनाइएको छ। ढुवानी तथा व्यवस्थापनको काम नेपाली महावाणिज्यदूतावास र नेवा गुठी न्युयोर्कको समन्वयमा हुनेछ। नेपाल आइपुगेपछि ती सम्पदालाई पुरातत्त्व विभागमार्फत सम्बन्धित निकायलाई हस्तान्तरण गरिनेछ।

नेपाल र अमेरिकाबीच सांस्कृतिक सम्पदाको अवैध ओसारपसार नियन्त्रण तथा चोरी भएका सम्पदाको खोजी–फिर्तीमा बढ्दो सहकार्यलाई सम्पदा संरक्षणको क्षेत्रमा अन्तर्राष्ट्रिय साझेदारीको महत्वपूर्ण उदाहरणका रूपमा हेरिएको छ।

प्रकाशित मिति: बुधबार, असार १०, २०८३  ०९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update